काठमाडौँ । कात्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा सम्बन्धित क्षेत्रको राजनीतिक माहोल चर्किँदै गएको छ। दलहरूले उम्मेदवार चयन तथा प्रचारमा सक्रियता बढाएका छन्।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राप्रपा नेपाल, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले आफ्ना उम्मेदवार टुंग्याइसकेका छन्। रास्वपाबाट डा। लेखजंग थापा, राप्रपा नेपालबाट अर्जुन थापा, जनमतबाट धनिराम चौधरी, र जनमोर्चाबाट बद्रे आलम मैदानमा उत्रिएका छन्।
यी उम्मेदवारहरूले घरदैलो अभियान, सामाजिक सञ्जाल तथा व्यक्तिगत भेटघाटमार्फत प्रचारमा तीव्रता दिएका छन्। त्यस्तै, स्वतन्त्र तर्फबाट अजयकुमार गुप्ता, लेखनाथ गैरे र किरण विकले पनि चुनावी प्रचार सुरु गरिसकेका छन्।
तर, सत्तारुढ दलहरू एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले भने अझैसम्म उम्मेदवारको नाम औपचारिक रूपमा सार्वजनिक गरेका छैनन्। एमालेले खिमलाल भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरिसकेको छ भने माओवादीले पूर्व सांसद सोनिया यादवलाई उम्मेदवार बनाउन सक्ने सम्भावना देखिएको छ। कांग्रेस भने अझै आन्तरिक छलफलमा व्यस्त छ।
राप्रपा भित्र भने प्राथमिक निर्वाचनको निर्णयले थप विवाद सिर्जना गरेको छ, जसले पार्टीको एकतालाई प्रभावित पार्ने सम्भावना देखिएको छ।
२०७९ सालको आम निर्वाचनमा यही क्षेत्रबाट राप्रपाका दीपक बोहरा विजयी भएका थिए। उनको निधनपछि रिक्त रहेको स्थानमा यो उपनिर्वाचन हुन लागेको हो।