काठमाडौं,नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य एकैदिन रु २,५०० ले बढेर तोलाको रु २,१०,४०० पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।
महासङ्घले जानकारी गराएअनुसार, हिजो सुनको मूल्य तोलाको रु २,०७,९०० थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा समेत यसको असर देखिएको हो।
त्यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। आज चाँदी रु १० ले बढेर तोलाको रु २,४९० मा पुगेको छ। हिजो चाँदीको मूल्य तोलाको रु २,४८० थियो।
सुनचाँदीको मूल्य निरन्तर बढ्दै गएपछि आम उपभोक्ता र व्यवसायी दुवै प्रभावित भएका छन्। विशेषगरी चाडपर्व नजिकिँदै गर्दा सुनचाँदीको बढ्दो मूल्यले बजारमा थप चाप पर्न सक्ने अनुमान गरिएको छ।