Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदै,विद्या भण्डारीले लेखिन यस्तो पत्र

एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदै,विद्या भण्डारीले लेखिन यस्तो पत्र

काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । पूर्वराष्ट्रपति एवं एमाले पूर्व केन्द्रीय उपाध्यक्ष विद्यादेवी भण्डारीले महाधिवेशनका प्रतिनिधिलाई लक्षित गर्दै पत्र लेखेकी छन् । एमालेको विधान महाधिवेशनमा पेस गर्ने गरी फरक दस्तावेज दर्ता भएको छ। यता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले सदस्यता नै नदिने निर्णयलगायत पाँच बुँदामा असहमति राख्दै पार्टी केन्द्रीय कार्यालय च्यासलमा फरक दस्तावेज दर्ता भएको हो। एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले दर्ता गराएको दस्तावेज २७ पृष्ठको छ।


दस्तावेजमा विद्या भण्डारीको सदस्यता नवीकरण नगरेकोमा असहमति जनाइएको छ। यस्तै, एमालेमा रहेको लोकतान्त्रीकरण कार्यान्वयनमा जोड दिइएको छ। एउटै पदमा २ कार्यकाल भन्दा बढी बस्न नपाइने र ७० वर्षे उमेर हद कायम हुनुपर्ने उल्लेख छ।  अहिले एमालेले यी दुवै प्रावधान नराखी विधान संशोधन प्रस्ताव अघि बढाएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बनाउन ती दुवै प्रावधान विधानबाट हटाइएको हो।  पार्टीबाट संविधान र विधानविपरीतका पटकपटक निर्णय भएको भन्दै यसलाई सच्याउनुपर्ने कुरा दस्तावेजमा राखिएको थापा बताउँछन्। पार्टीले गरेका निर्णयहरू कार्यान्वयन नगरिएकोमा थापाले प्रश्न उठाएका छन्।

यता  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो पार्टीप्रतिको विश्वास र आस्थामाथि एमालेले कुठाराघात गरेको सन्देशसहितको अपिल पठाउने तयारी गर्दै सत्य र न्यायको पक्षमा उभिन आग्रह गर्ने तयारी गरेकी छन् । उनले भावुक हुँदै लेखेकी छन्, ‘म अहिले एउटा यस्तो परिवेशमा उभिएको छु, मैले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यता जो मेरो गहिरो आस्था र विश्वासको प्रतीक समेत हो, त्यसमा कुठाराघात गर्ने प्रयास गरिएको छ। पार्टीले विशेष निर्णय गरेर देशको राष्ट्रपति हुन पठाएपछि कुशलतापूर्वक सो अभिभारा पूरा गरेर फर्किएँ र अब पार्टीमा नै संलग्न भएर अगाडि बढ्न चाहन्छु भन्दा पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय हो । यस्तो प्रश्न मेरा निम्ति मात्र होइन कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन भन्ने मेरो अडान हो ।’

भण्डारीले आफ्नो प्रयास पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन भन्दै यसलाई नकारात्मक उपमा दिएर गलत भाष्य सिर्जना गर्ने प्रयास नगरियोस् भनी अनुरोध गरेकी छन् । भण्डारी निकट स्रोतका अनुसार प्रतिनिधिहरूलाई कसैले पनि पार्टीमा आफ्नो जस्तो नियति भोग्न नपरोस् भन्दै २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यतामा गहिरो आस्था र विश्वासको जोडिएको बताएकी छन् ।विधान महाधिवेशन २२ गतेसम्म चल्ने छ । महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी कुल दुई हजार ३ सयभन्दा धेरै सहभागी हुने नेकपा एमालेले जनाएको छ । प्रतिनिधिहरुलाई बिहान नौ बजेदेखि नै आउन भनिएको छ । उदघाटन समारोह भने ११ बजेदेखि सुरु हुने छ ।