काठमाडौँ । रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनका लागि राप्रपा नेपालले अर्जुन थापा कालु लाई उम्मेदवारको रुपमा अगाडि सारेको छ। पार्टीको जिल्ला कार्य समितिबाट प्राप्त सिफारिसका आधारमा लुम्बिनी विकास क्षेत्र समन्वय समितिले थापाको नामलाई एकल सिफारिस गर्दै केन्द्रमा पठाएको हो।
जिल्ला समितिले तीन जनाको नाम सिफारिस गरे पनि क्षेत्रीय समितिले थापालाई प्राथमिकतामा राख्दै एकल सिफारिस गरेको हो। यससँगै अर्जुन थापा ‘कालु’ को उम्मेदवारी लगभग पक्का जस्तै भएको छ। उनी राप्रपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष समेत हुन्।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले क्षेत्रीय समितिको सिफारिस पार्टी केन्द्रीय कार्यालयमा प्राप्त भइसकेको जानकारी दिएका छन्।
रुपन्देही–३ मा उपनिर्वाचनको मिति नजिकिंदै जाँदा राजनीतिक दलहरूले उम्मेदवार चयन प्रक्रिया तीव्र पारेका छन्। राप्रपा नेपालले थापालाई अघि सारेसँगै क्षेत्रको प्रतिस्पर्धा थप चासोको विषय बन्न पुगेको छ।