काठमाडौँ, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पुर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना गरेको भन्दै मुद्दा दायर भएको छ । श्रेष्ठले न्यायपालिकाको निष्पक्षता र मर्यादामाथि गम्भीर आघात पुर्याउने गरी सामाजिक सञ्जालमा टिप्पणी गरेको भन्दै उनी विरुद्ध मुद्धा दायर भएको हो । १९ वर्षीय युवा आयुष दाहालले नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएको बताइएको छ ।
कानूनका विद्यार्थी समेत रहेका मोरङका दाहालले राष्ट्रियसभा जस्तो बौद्धिक व्यक्तिहरुको सभामा रहेका नेताले अदालतको मान प्रतिष्ठामाथि आँच पुर्याउने गरि सार्वजनिक रुपमा अभिव्यक्ति दिएको भन्दै सर्वोच्चमा मुद्दा दर्ता गराएका छन । दाहालले सर्वोच्चमा श्रेष्ठविरुद्ध मुद्दा दर्ता गर्दै भनेका छन्, "न्यायपालिकाको शुद्धिकरणमा ध्यान दिनुको सट्टा घुस नभई न्याय पाइन्न भन्नेजस्तो गैरसंवेदनशील विषयमा अभिव्यक्ति दिएर न्यायपालिकाको विश्वासमा गम्भीर प्रभाव पार्न खोज्नु लोकतन्त्रका लागि राम्रो होइन् । लोकतन्त्रको सुदृढीकरणका लागि पनि यस्ता विषयमा सचेत नागरिकको हैसियतले सर्वोच्च पुगेँ ।" दाहालले दायर गरेको मुद्दा असोज १९ गतेका लागि पेशी तोकिएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जालमा केहिदिन पहिले सामाजिक सञ्जालमा न्यायको खोजीमा अदालत पुगेको कुनै पनि नेपालीले सम्पर्क, पहुँच वा घुस बिना न्याय पाउने अवस्था नरहेको भन्दै अदालत स्वार्थ, बदला र प्रतिशोध पुरा गर्ने साधन बन्न पुगेको आरोप लगाएका थिए ।
निवेदक दाहालले नेपालको संविधानको धारा १२८ (४), न्याय प्रशासन ऐन, २०७३ को दफा १७ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ५९ बमोजिम श्रेष्ठलाई अदालतको अवहेलनामा कारबाही गर्न माग गरेका छन्। उनले श्रेष्ठलाई सशरीर अदालतमा उपस्थित गराई बयान लिने, विवादित सामग्री सामाजिक सञ्जालबाट तत्काल हटाउन आदेश दिने र न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (४) बमोजिम हदैसम्मको सजाय गर्न माग गरेका छन् ।
पछिल्लो समय अदालतमाथि अनेक आरोप लगाउने र न्याय किनबेच हुने गरेको आरोप लगाउदै अभिव्यक्ति दिनेक्रम बढेको छ । न्यायपालिकामाथिका यस्ता टिप्पणीले न्याय सम्पादनमा समेत प्रभाव पर्ने विज्ञहरुले बताउने गरेका छन् । न्यापालिकाले गर्ने गलत कामका लागि नेपाल बार, न्याय परिषद् र संसदले समेत उच्च निगरानी राख्ने भएकाले सार्वजनिक टिप्पणीले अदालतमाथि अनास्था फैलाउने टिप्पणी गर्न नहुनेमा जोड दिने गरिएको छ ।