Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अधिबक्ता यज्ञमणीले कुलमानलाई खुला पत्र लेख्दै भने:कालाकोठरीहरूमा रङ लगाउने क्रम सुरु भइसक्यो होला

अधिबक्ता यज्ञमणीले कुलमानलाई खुला पत्र लेख्दै भने:कालाकोठरीहरूमा रङ लगाउने क्रम सुरु भइसक्यो होला

रवि लामिछानेको पार्टी निकट अधिवक्ता यज्ञमणि न्यौपानेले कुलमान घिसिङज्यूलाई सामाजिक सञ्जालमा एक खुला पत्र लेखेका छन । "आदरणीय कुलमान घिसिङज्यू, हामीले देख्दै आएका छौँ,नेपालमा असल काम गर्नेहरूलाई अवरोध र अपमान दिइन्छ, तर अन्तर्राष्ट्रिय जगतले त्यही योगदानलाई खुलेर सम्मान गर्दछ। इतिहासका पानामा लेखिएका कथा पनि यसैलाई पुष्टि गर्छ।गौतम बुद्धलाई आफ्नै भूमिमा षड्यन्त्रको घेरामा पारिएको भनाइ छ, तर अन्ततः संसारले उहाँलाई भगवानका रूपमा मानेको छ।

भगवान श्रीकृष्णलाई आफ्नै मातृभूमिले नपत्याए पनि पराइ भूमिले उहाँलाई चिनेको छ। आज फेरि, कुलमान दाइ, तपाईँमार्फत यो इतिहास दोहोरिएको छ। नेपाल फर्कनु भएको यो क्षणमा, नेपाली जनताले तपाईँमाथि असाधारण आशा गरेका छन् । पुराना राजनीतिक दलहरूको अविश्वास, तिखो प्रतिस्पर्धा र स्वार्थी संस्कारले मुलुकलाई दिशा विहीन बनाइरहेको छ। यस्ता कठिन परिस्थितिमा, नागरिक भरोसाको जग फेरि तपाईँ माथि समेत अडिएको छ । कृपया यो विश्वास मर्न नदिनुहोस्, किनकि नागरिकको विश्वास नै राष्ट्रको मुटु हो। यो पत्र कुनै दल वा विचारको हैसियतले होइन, एउटा स्वतन्त्र नेपाली नागरिकको नाताले लेखिएको हो । म त नेता हैन, नेतागण हरूसँग सल्लाह गर्नुहोस्, यदि एउटै नाउमा यात्रा गर्न सकियो भने त्यो यात्राले समृद्धि ल्याउनेछ। एउटै ढुङ्गामा सवार गरौँ,नभए पनि, एउटा  डुङ्गाले अर्को ढुङ्गालाई डुब्न नदिएझैँ, एउटा चक्काले अर्को चक्कालाई सहारा दिए झैँ हामीले परस्परलाई सुरक्षित राख्दै साझा गन्तव्यतर्फ अघि बढ्न सक्ने मनोबल राख्नुपर्छ। यही मनोबल नै नेपालको भविष्य बदल्ने कोशीढुङ्गा बन्नेछ,भन्ने दृढ विश्वास ममा छ। तर, यो सुरुवात मात्रै हो। तपाईँलाई हेरेर आशा बोकेका जनताको मनमा अझै ठूलो प्रश्न छ।“आगामी बाटो कस्तो हुने हो?“ किनभने शिकार गर्न खोज्नेहरू त सधैं वरिपरि हुन्छन्।

उनीहरूका लुकेका दाराहरू त समय ले बाहिर निकाल्छ। त्यतिखेर एक्लै जुध्न नसकिने परिस्थिति पनि आउन सक्छ। नेसनल जियोग्राफीमा देखिने दृश्य जस्तै, जहाँ बाघले एक्लै आक्रमण गर्दा भैंसीहरू एकताबद्ध भएर बाघलाई खेदाउँछन्—त्यस्तै अवस्थामा नयाँ र परिवर्तनकारीहरू पनि एकै ठाउँ उभिनुपर्ने हुन सक्छ। आफन्त, नातागोता, नजिकका भनेर हिजो विश्वास गरेका पात्रहरूले नै कहिलेकाहीँ धोका दिन सक्छन् । यो कुरा शास्त्रबाट समेत सिक्नुपर्छ। सीताको सतित्व हरण आफ्नै भनिएका बाटै योजनाबद्ध सुरु भएको पौराणिक तथ्य यसैको प्रमाण हो। त्यसैले आज तपाईँलाई घेर्ने चमक र सम्मानले मात्र होइन, भविष्यका कठिन चुनौतीहरूसँग जुध्न तयार रहने दृढताको आवश्यकता पनि छ। तपाईँलाई पनि कालाकोठरीहरूमा रङ लगाउने क्रम सुरु भइसक्यो होला। त्यसतर्फ समेत सजग हुनुपर्नेछ । कुलमानज्यू, तपाईँमाथि नागरिकको अपार भरोसा छ।

यही भरोसालाई जीवन्त राख्दै, नेपाललाई उज्यालो यात्रातर्फ अघि बढाउन तपाईँको नेतृत्व नेपालको  भविष्यको आधारशिला बनोस। उज्यालो अभियान मनको बनोस् ,वचनको बनोस् ,कर्मको बनोस्, नेपाली जनताको भाग्य र भविष्यको अभियान बनोस्। आज तपाईंमाथि आशा र भरोसा गर्दै यो पत्र लेखेको छु । तर भविष्यमा तपाईँले गलत गर्नुभयो , तपाईँबाट देशले केही पाउँदैन भन्ने दिन नआओस् । किनकि मेरो स्वभाव व्यक्तिमा आधारित भएर बोल्ने नभई व्यक्तिले गर्ने कार्य र परिणामका आधारमा बोल्ने आदत छ । तपाईंबाट पनि यो देशमा केही राम्रो हुन्छभन्ने दृढ विश्वास राख्दै, मेरो विश्वास भरोसा नटुटोस् भन्नका लागि उही वैकल्पिक राजनीतिक चेत राख्ने यज्ञमणि न्यौपाने ।" भन्दै उनले लेखेको छन् ।