काठमाडौँ । राष्ट्रियसभाको बैठक आज अपराह्न ३:१५ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्र संसदमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ सम्बन्धी प्रतिवेदन पेश गर्नेछिन्। साथै, राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यक्रम रहेको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गर्ने कार्यसूची समेत बैठकमा समावेश गरिएको छ।
यसैबीच, आज बिहान ११:३० बजे दुई संसदीय समितिको बैठक पनि बस्नेछ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ विषयमा सरोकारवालासँग छलफल हुनेछ भने विधायन व्यवस्थापन समितिमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ को मस्यौदा प्रतिवेदनमाथि छलफल गरिनेछ।