काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ १५ देखि चीनको तियान्जिनमा हुने सांघाई सहयोग संगठन एससीओ शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका छन्। सम्मेलनमा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसहित उच्च स्तरीय नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओली १७ भदौमा सम्मेलनलाई सम्बोधन गर्नेछन् भने त्यसको भोलिपल्ट १८ भदौमा बेइजिङमा आयोजना हुने दोस्रो विश्वयुद्धमा जापानी आक्रमणविरुद्धको विजय दिवसको ८०औं वार्षिकोत्सव सैन्य परेडमा सहभागी हुने तय भएको छ।
चीनले आयोजना गरेको उक्त परेडलाई जापानले “जापानविरोधी कार्यक्रम”का रूपमा हेर्दै सहभागी देशहरूलाई अनौपचारिक रूपमा त्यसबाट टाढा रहन संकेत गरेको खबर बाहिरिएको छ। जापानसँगको सम्बन्धलाई ध्यानमा राख्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रममा नगर्ने निर्णय गरेका थिए।
यही पृष्ठभूमिमा ओलीको सहभागितालाई लिएर कूटनीतिक वृत्तमा नेपालको सन्तुलनकारी विदेश नीतिमा प्रश्न उठ्न थालेको छ। जापान नेपालका प्रमुख विकास साझेदारमध्ये एक हो। राष्ट्रपति पौडेलले सन् २०२२ मा जापानी सम्राटबाट “अर्डर अफ द राइजिङ सन” सम्मान समेत प्राप्त गरेका थिए।
सैन्य परेडमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका किम जोङ–उन, टर्की, इन्डोनेशिया, मलेसिया र भियतनामलगायत देशका नेताहरूको उपस्थिति रहनेछ। परेडमा चीनले आफ्ना नयाँ हतियार, लडाकु विमान, ट्याङ्क तथा एन्टी–ड्रोन प्रणाली प्रदर्शन गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा शिक्षा–पर्यटन मन्त्री, कांग्रेस उपसभापति, सांसदहरू र अन्य उच्च अधिकारीहरू रहेका छन्। भ्रमणपश्चात् प्रधानमन्त्री ओली भारत भ्रमणमा निस्कने कार्यक्रम पनि तय भएको छ।