काठमाडौँ । ओली सरकारबाट अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी बाहिरिने तयारीमा जुटेको छ । लामो समयदेखी मन्त्री फेर्न पत्र पठाउँदा पनि ओलीले चासो नदेखाए पछि राईले सरकार छाड्ने तयारी गरेको हो । मन्त्रीहरुलाई फिर्ता आउनको लागि राईले पदाधिकारी बैठकमार्फत भदौ ११ गतेसम्मको समयसिमा तोकेका थिए तर, आज १२ गते भई सक्दा पनि ओलीले चासो देखाएका छैनन्।
सत्तामा रहेको ठुलो दल काँग्रेसले मन्त्री हेरफेरमा चासो नदिए पछि ओलीले सरकारका मन्त्रीहरु फेर्न सकिरहेका छैनन् । प्रधानमन्त्रीको वयटिङ लिष्टमा रहेका काँग्रस सभापति शेरबहादुर देउवाले आफ्ना मन्त्री फेर्न नचाहे पछि ओली चेपुवामा परेका छन् । ओलीले आफ्नो पार्टीबाट मन्त्री बनेकालाई फिर्ता बोलाउने तयारी गरे पनि काँग्रसले मानिरहेको छैन । त्यसैले अशोक राई नेतृत्वका जसपाले पनि मन्त्री फेर्न सकिरहेको छैन । अध्यक्ष राईले आफ्नो पार्टीबाट सरकारमा सहभागी दुई जना मन्त्रीलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा अरू दुई जना नै पठाउनेगरि नाम पठाउँदासमेत प्रधानमन्त्री केपी शर्मा ओलीले चासो नदिएको भन्दै सरकारबाट बाहिरिने निर्णय लिन लागेका हुन् । राई यतिवेला काठमाडौं बाहिर छन् ।उनी आजै काठमाडौं आउने बताईएको छ ।
राईले यसअघि पार्टीको पदाधिकारी बैठक राखेर अहिले सरकारमा सहभागी पार्टीका दुई जना मन्त्रीहरु प्रदिप यादव र नवलकिशोर साह सुडीलाई फिर्ता बोलाउने निर्णय गरेका थिए । उनीहरुको ठाउँमा डा. वीरेन्द्र प्रसाद महतो र रञ्जु झालाई पठाउनेगरि राईले बालुवाटारमा नामसमेत पठाईसकेका छन् । देउवा परराष्ट्रमन्त्री आर्जु राणा र गृहमन्त्री भएका रमेश लेखकलाई बदल्न चाहँदैनन् । पार्टीका पूर्वपदाधिकारी समूहले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको पक्षमा वकालत गर्दै आइरहेको छ । सिंहलाई हटाए पार्टीभित्रको शक्ति सन्तुलन खलबलिने डर देउवालाई छ । अर्कोतर्फ महामन्त्री गगन थापाको सहमतिबेगर स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई पनि बदल्ने पक्षमा छैनन् देउवा । पौडेल महामन्त्री थापाको कोठाबाट मन्त्री भएका हुन् । चार जनाबाहेकलाई हटाउँदा गलत सन्देश जाने ठानेर पुनर्गठन नगर्ने अडानमा छन् देउवा । देउवाको अडानका कारण ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न सकिरहेका छैनन् ।
पहिलो र दोस्रो ठूला दल गठबन्धनको ‘बलियो सरकार’ बन्दासमेत शासकीय सुधार हुन नसकेको भन्दै प्रश्न उठ्दै आएको छ । मन्त्रीहरूको घूस प्रकरण र विवादले सरकार थप बदनाम बन्दै गएको छ । लोसपाबाट वरिष्ठ नेता शरतसिंह भण्डारी श्रममन्त्री छन्। उनलाई पनि हटाउन लोसपाले आग्रह गरिसकेको छ । कांग्रेस र एमालेसहित साना ६ दलको समर्थनमा केपी शर्मा ओली नेतृत्वको सरकार २०८१ असार ३१ गते गठन भएको हो। प्रधानमन्त्री ओलीले पनि आफ्ना मन्त्रीलाई एक वर्षको लागि मात्र नियुक्त गरेको भन्दै राम्रो काम गर्न निर्देशन दिएका थिए। ओली सरकारले १३ महिना पूरा गरिसकेको छ।