काठमाडौँ । नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख इन्द्रविक्रम बेघा बीचको मतभेद तथा राजनीतिक समन्वय अभावका कारण चालु आर्थिक वर्षको बजेट अहिलेसम्म नगरसभाबाट पारित हुन नसक्दा धरान उपमहानगरपालिकामा समस्या तुलिएको छ । जनप्रतिनिधिहरूको किचलोले धरान उपमहानगरमा महिना दिनदेखि बजेट शून्यतामा चलेको छ ।
उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेट अझैसम्म सार्वजनिक गर्न नसक्दा एक महिनादेखि आर्थिक कारोबार ठप्प छ । धरानका मेयर, उपमेयर र वडाध्यक्ष बीचको विवादका कारण नगर सभामा बस्न नसक्दा साउन १ देखि धरान उपमहानगरपालिका बजेट शून्यतामा गएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक आवको बजेट असार १० भित्र पारित गर्नुपर्ने कानुनी व्यवस्था भए पनि यसपटक धरान उपमहानगरले उक्त प्रावधान अनुसार काम गर्न सकेन। बजेट पारित नहुँदा विकास निर्माण, कर्मचारी तलब, सामाजिक सुरक्षा भत्ता वितरण, सार्वजनिक सेवा तथा अन्य आर्थिक कारोबार ठप्प भएका छन्। जेठदेखि नै मेयर साम्पाङ र उपमेयर बेघाबीच श्रमदानको रकम भुक्तानी सम्बन्धी विवाद चर्किन थालेको थियो। असार १० आसपासमा मुलुकभरीका अन्य स्थानीय सरकार धमाधम बजेट ल्याइरहेका थिए। त्यहीबेला धरानमा भने मेयर र उपमेयरका समर्थकबीच उपमहानगर कार्यालय परिसरमै झडप भएको थियो ।
समयमै बजेट नआएका कारण नयाँ आर्थिक वर्ष सुरु भएको महिना दिन भन्दा लामो समय बितिसक्दा पनि धरान बजेटविहीन अवस्थामा छ। गत असारमा धरान–१६ नौलो बस्तीस्थित बहुभाषिक पाठशाला जोगाउन लगाएको तारजालीको भुक्तानी दिने विषयमा जनप्रतिनिधिहरू बीचमा विवादले बजेट समेत प्रभावित भएको हो । उपमेयर बेघासहित केही वडाध्यक्षले श्रमदानको काममा तारजालीको रकम निकासा गर्न नहुने तर्क गरेका थिए भने मेयर साम्पाङले तारजालीको भुक्तानी नभए अन्य कुनै पनि योजनाको भुक्तानी नहुने अडान राखेपछि केही दिन उपमहानगर तनावपूर्ण बनेको थियो । जनप्रतिनिधिबीचको समन्वय अभाव, राजनीतिक ध्रुवीकरण र आपसी असहमतिका कारण उपमहानगरपालिकाको बजेट प्रक्रिया अन्योलमा परेको हो।
स्थानीयवासीले व्यक्तिगत राजनीतिक विवादका कारण नगरको समग्र विकास प्रभावित हुनु दुःखद् भएको जनाउँदै, सबैपक्षलाई चाँडो सहमति जुटाई बजेट प्रक्रिया अघि बढाउनसमेत आग्रह गरेका छन् । त्यसो त धरानमा हरेक वर्ष बजेट ढिला हुँदै आएको छ । अघिल्लो वर्ष पनि विवादकै कारण ढिला बजेट आएको धरानमा समयमा केही काम हुन नसकेको कर्मचारीहरू बताउँछन्। धरानमा स्वतन्त्र जितेका मेयर साम्पाङ र माओवादीबाट जितेका उपमेयर बेघाबीच राम्रो सम्बन्ध छैन । कांग्रेस, एमाले, माओवादी सहितका दलहरूको ठूलो संख्या भएको कार्यपालिकामा मेयर साम्पाङ लगभग एक्लिएको अवस्थामा छन्।