काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दामा उच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सोमबार लामिछानेको तर्फबाट दिइएको मुद्दा बुधवार न्यायाधीश सागर विष्टको इजलासमा परेको थियो । लामिछानेको तर्फबाट पत्नी निकिता पौडेलले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिहाईको माग गर्दै रिट निवेदन दिएकी थिईन् । सो निवेदन न्यायाधीश सागर विष्टको इजलासमा सुनुवाई भएको थियो ।
बिगोबमोजिमको धरौटी बुझाएर रिहाइको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका हुन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेको उक्त मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ । यसअघि जिल्ला अदालत रुपन्देहीले सोही प्रकृतिको निवेदनमा मागबमोजिमको आदेश दिन अस्वीकार गरेको थियो ।सहकारी ठगी तथा संगठित अपराध मुद्दामा लामिछाने चैत २५ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । यसअघि जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहितको मुद्दा अस्वीकार भएसँगै लामिछाने उच्च अदालत पुगेका हुन् ।जिल्ला अदालतले बिगोलाई आधार मान्न नसकिने भन्दै उनलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश गरेको थियो । सोमबार उच्च अदालत बुटवलमा परेको मुद्दामा आजका लागि पेशी तोकिएकोमा न्यायाधीश विष्टको एकल इजलासमा परेको हो । अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले लामिछानेको मुद्दा न्यायाधीश विष्टको एकल इजलासको परेको र कैफियत प्रतिवेदन माग भएको जानकारी दिए । आज लामिछानेको तर्फबाट अधिवक्ता महेन्द्र पाण्डे र बाबुराम पाण्डेले बहस गरेका थिए ।
उच्च अदालतले मिसिल माग गरेपछि एक साता भित्रमै त्यो आइपुग्ने र अर्को बहस हुने कुँवरले बताए । रुपन्देहीको सूप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनमा लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा विचाराधीन छ।आफ्नो दलका सभापतिलाई राज्यले प्रतिशोध साँधेर मुद्दा चलाएको दाबी गर्दै आएको रास्वपाले आफ्नो मुद्दामा समर्थन खोज्दै असार ७ गतेबाट सर्वसाधारणहरूको हस्ताक्षर सङ्कलन गरिरहेको छ। देश भर मात्रै नभएर विदेशमा समेत हस्ताक्षर अभियान चलिरहेको छ । धेरैले उत्साहजनक रुपमा हस्ताक्षर गरिरहेका पनि छन । सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामुहिक बिगो कागम गरेर अभियोग पत्र दायर गरिएको छ। तर रविले त्यसको चार भाग मध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पनि पेस गरेका थिए। रविले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेश गरेका थिए। तर, पनि उनी छुट्न सकेनन । अहिले उनलाई ललितपुरको नख्खु कारागारमा सारिएको छ ।