काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । आज सोमबारहरिसिद्धीस्थित विप्लव निवासमै पुगेर प्रचण्डले भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, बाम आन्दोलनको वर्तमान दिशाबारे समीक्षा तथा दुई पार्टीबीच सम्भावित एकता प्रक्रियाको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
यसअघि साउन १६ देखि १९ गतेसम्म बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता प्रक्रियालाई अघि बढाउनका लागि विशेष समिति गठन गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार प्रचण्ड स्वयंले पहल अघि बढाएका हुन् ।
राजनीतिक वृत्तमा प्रचण्ड–विप्लव भेटलाई बाम शक्तिहरूबीच पुनः एकताको सम्भावनाका रूपमा हेरिएको छ । तर, भेटवार्ताबाट ठोस सहमति भएको वा औपचारिक प्रक्रिया कहिले सुरु हुने भन्नेबारे भने दुबै नेताले सार्वजनिक रूपमा केही बताएका छैनन् ।