Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भियतनामकी उपराष्ट्रपति सुआनसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता,के भयो कुराकानी ?

भियतनामकी उपराष्ट्रपति सुआनसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता,के भयो कुराकानी ?

काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले शिष्टाचार भेटवार्ता गरेकी छिन ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आज काठमाण्डौ आएकी उपराष्ट्रपति भोसँग भेटवार्ता भएको हो । 

भेटका क्रममा नेपाल–भियतनाम सम्बन्धका विविध आयामहरूका साथै द्विपक्षीय हित र आपसी चासोका विषयहरूमा कुराकानी भएको थियो । त्यस क्रममा मन्त्री राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै यो आर्थिक विकासबाट अन्य देशले पनि सिक्न सक्ने धारणा राखेकी थिइन ।

मन्त्री राणले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र नागरिकका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा जोड दिइन।

मन्त्री राणाले भियतनामबाट भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माणका लागि पनि आग्रह गरिन। 

भेटमा परराष्ट्रमन्त्री राणाले नेपालले सन् २०२७ देखि २०२९ सम्मका लागि मानव अधिकार परिषद्को सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गर्दा उपराष्ट्रपति भोले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । 

नेपाल र भियतनाम द्विपक्षीय र बहुपक्षीय तहमा एकअर्कालाई सहयोग र समर्थन गर्दै आएको उल्लेख गर्दै दक्षिण–दक्षिण सहयोग, जलवायु परिवर्तनजस्ता विश्वव्यापी एजेन्डाहरूमा आउँदा दिनमा पनि सहकार्यका साथ अघि बढ्नुपर्नेमा भेटमा छलफल भएको थियो ।