काठमाडौँ । जसपाले सरकारले अघि बढाएको भूमि सम्बन्धी विधेयकमा आपत्ति जनाएको छ । जसपाले आपत्ति जनाउँदै भूमि सम्बन्धी विधेयक राष्ट्रहितविपरीत’ भएको भन्दै देशव्यापी रूपमा एकहप्ते विरोध प्रदर्शनको घोषणा गरेको छ। यस विधयकमा जसपाले पहिला बाट नै आपत्ति जनाउँदै आएको छ । जसपाले विधेयकले भू(माफिया र जग्गा दलाललाई हित गर्ने तर तराईरमधेशलाई मरुभूमीकरणतर्फ धकेल्ने आरोप लगाएको छ।
जसपा नेपालका महासचिव लालबाबु राउतद्वारा जारी विज्ञप्तिअनुसार, यही भदौ ९ गतेदेखि १५ गतेसम्म देशका विभिन्न शहरहरूमा विधेयकविरुद्ध विरोध प्रदर्शन गर्ने छ ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले ‘भूमि र वन बचाउँ, मधेशलाई मरुभूमीकरण हुनबाट जोगाउँ’ अभियानअन्तर्गत आन्दोलन गर्ने निर्णय गरेको जनाएको छ।
संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भदौ ५ गते प्रक्रिया अगाडि बढाएपछि जसपाले आन्दोलनको घोषणा गरेको हो। पार्टीले आफूहरूले सुरुदेखि नै विधेयकको विपक्षमा आवाज उठाउँदा पनि सरकारले बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ।जसपाले वन क्षेत्रको अतिक्रमण रोक्न, जैविक विविधता र पर्यावरणको संरक्षण गर्न तथा जल, जंगल र भूमिको रक्षा गर्न आन्दोलनमा उत्रिनु परेको जनाएको छ।