काठमाडौँ । हिजोसम्म कुनै चर्चा नै नभएको बिषयमा आज बिहानैबाट एकाएक ओली र देउवाले रास्वपाबाट बनेकी उपसभामुख इन्दिरा रानालाई बर्खास्त गर्ने तयारी गरेको चर्चा सँगै राजनीति तरंगित बनेको छ । ईन्दिरा राना अहिले अमेरिका भ्रमणमै रहेका बेला राना उनलाई पदबाट हटाउने तयारी भएपछि कांग्रेस र नेकपा एमालेका सासदहरुले बिहानैबाट हस्तक्षर समेत संकलन गरिसकेको खबर बाहिरिएको छ । अहिले रास्वपाका सभापति रबि लामिछाने कारागारमै रहेको बेला रास्वपालाई नै तरंगित बनाउने गरि ओली सरकारले यस्तो तयारी गरेपछि यतिबेला रास्वपाका सासंदहरु आन्तरिक छलफलमा जुटिसकेका छन ।
सरकारका दुई मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई हटाउने उद्देश्यले आ–आफ्ना दलको आकस्मिक बैठक बोलाएको चर्चा चलेपछि विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाले आन्तरिक रुपमा नेताहरुबिच छलफल थालेका छन । प्रमुख सचेतक सन्तोष परियारले यदि उपसभामुखलाई नै हटाउने कांग्रेस र एमालेको तयारी हो भने त्यसको सशक्त रूपमा प्रतिवाद हुने उनले बताए । आफू अनुकूल व्यक्तिलाई नियुक्त गर्न संवैधानिक परिषद् बाधक भएको हुनाले फेरि उपसभामुख हटाउन चलखेल गरेको हुन सक्ने रास्वपाका अर्का सांसद शिशिर खनालले अनुमान गरे । उपसभामुख हटाउने अभियानमा गत वर्ष नै कांग्रेस र एमाले लागेको भए पनि असफल भएको भन्दै उनले फेरि यो मुद्दा अगाडि बढाउनुको उद्देश्यबारे आफूहरूले बुझ्ने प्रयास भइरहेको जानकारी दिए । हाल संवैधानिक परिषदमा सत्तारुढ दलहरू अल्पमतमा रहेका छन् । परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता रहने संवैधानिक व्यवस्था छ ।
संविधानको धारा ९१ को उपधारा ६ मा सभामुख वा उपसभामुखको पद रिक्त हुने अवस्था बताइएको छ । यो धाराअनुसार प्रस्ताव पारित गरेर २ तिहाइले हटाउन सक्छ । महाअभियोग भने संविधानको धारा १०१ ले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायधाीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीका विरुद्धमात्र ल्याउन सक्ने व्यवस्था छ । प्रतिनिधिसभामा २७५ मध्ये दुई तिहाइका लागि १८३ सांसद भए पुग्ने भएकाले साना दलहरुको पनि समर्थन रहेकाले उपसभामुखलाई सहजै हटाउन सकिने देखिएको छ । उपसभामुखलाई हटाउँदा संवैधानिक परिषद्मा पनि गठबन्धनलाई कम्फर्टेबल हुने भएकाले सरकारले हटाउन खोजेको हो । उपसभामुख रानाले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन अमेरिकी दूतावासलाई लेखेको पत्रको विषयमा रानाको आचरणमाथि प्रश्न उठाउँदै गठबन्धनले संविधानको धारा ९१ को उपधारा ९६० अनुसार उपसभामुख रानालाई हटाउन खोजेको हो । अहिले उपसभामुख इन्दिरा राना अमेरिका भ्रमणमा छिन् । उनको सचिवालयका अनुसार उनी गत साउन ३० गते अमेरिका गएकी हुन् । यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ । उपसभामुख राना व्यक्तिगत भ्रमणमा गएको सचिवालयले जनाएको छ ।