विद्यादेवी भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै यस विषयमा धेरै छलफल गर्नु आवश्यक नरहेको बताएकी छन् ।विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘म नेकपा एमालेकै कार्यकर्ता हुँ । म पनि आलोचनाभन्दा मुक्त छैन । कोही पनि छैन । यस विषयमा धेरै छलफल गर्नु आवश्यक छैन ।’
राजतन्त्र र गणतन्त्र फरक व्यवस्था भएको भन्दै उनले अगाडि भनिन्, ‘राजा व्यक्ति हो । राष्ट्रपति एउटा पद हो । आवधिक हुन्छ । जो सुकै जनताको छोरा निर्वाचित भएर राष्ट्रपति बन्न सक्छन् । उनीहरू कार्यकाल सकिएपछि आफ्नो काममा फर्कन सक्छन् ।’
पूर्वराष्ट्रपति भण्डारीले पार्टीले कुनै भूमिका नदिए पनि आफू एमालेको संगठित सदस्य भएको बताइन् ।एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा भण्डारीले गरे पनि पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय एमालेले गरिसकेको छ ।
पार्टी केन्द्रीय कमिटीको पछिल्लो निर्णयबारे आफूलाई औपचारिक जानकारी नभएको उनको दाबी छ ।
‘४५ वर्ष भयो नेकपा एमालेको संगठित सदस्य भएको, विराटनगरमै मैले शपथ खाएको हुँ, मोरङ जिल्लामै,’ उनले भनिन् ।
पार्टीको निर्णयपछि आफू राष्ट्रपति बनेको भन्दै उनले कार्यकाल सकिएपछि पुनः पार्टीको राजनीतिमा फर्किएको दोहोर्याइन् ।
‘हिजो पनि म नेकपा एमाले भएरै राष्ट्रपति निर्वाचित भएको हुँ, पार्टीले निर्णय गरेर पठाएको हो र आज पनि म एमालेमै छु,’ उनले भनिन्, ‘कुनै कुरामा कसैले विवाद उठायो होला, पार्टीको औपचारिक कुरा के छ, मलाई थाहा भएन । म केन्द्रमा छैन ।’
नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालासँगको भेटमा सामान्य छलफल भएको उनले बताइन् ।
‘उहाँ पनि मोरङकै हो, हामी पनि त्यहीँ जन्मे–हुर्केको हो । भेटको कुरालाई यस्तो ठूलो हाउगुजीको रूपमा लिनुपर्ने म ठान्दिनँ,’ उनले भनिन् ,‘देशका समस्याबारे केन्द्रीय नेताहरूले छलफल गर्नु राम्रो कुरा हो ।’
पूर्वराष्ट्रपति भण्डारीले तत्काल बाम एकताको बलियो आधार नदेखेको बताइन् । तर, असम्भव भने नभएको उनको भनाइ छ ।