काठमाडौँ । आज प्रतिनिधिको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा सभामुखले सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
हिजो गणपूरक सङ्ख्या नपुगेर संसद् बैठक स्थगित हुँदा सूचना प्रविधि तथा साइवर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन ।