विशाल अधिकारी,
गुल्मी । पश्चिम नेपालमा निकै लोकप्रिय रहेको श्रीकृष्ण जन्माअष्टमीको मेला यसपाली पनि गुल्मीको मालिकामा भव्यरुपमा मनाईने भएको छ । श्रीकृष्ण जन्माअष्टमी पर्व देशैभर मनाइने भएपनि पश्चिमका केहीँ जिल्लाहरुमा यो पर्व भने विशेष रुपमा मनाईने गरिन्छ । परम्परागत संस्कृतिको संरक्षण गर्ने उदेश्यले गुल्मीको मालिका गाउँपालिका ६ अर्जैँ पोखराबारीमा जन्माअष्टमीको अवसरमा विविध कार्यक्रमहरुको आयोजना गर्ने गरिन्छ । त्यसलाई निरन्तरता दिदैँ यो पटक पनि विभिन्न कार्याक्रमहरुको आयोजना गदैँ २ दिनसम्म यो पर्व मनाईने भएको हो ।
शिव कृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा यहीँ श्रावण ३१ गते र भाद्र १ गते पोखराबारीमा कार्यक्रम गर्न लागिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । श्रावण ३१ गते श्रीकृष्ण मन्दिरमा पुजाआजा र भजन कृतनको आयोजना गरिएको छ भने भाद्र १ श्री कृष्णको रथयात्रा,रोपाईँ जात्रा,भजनकृतन,नौमती बाजा तथा विभिन्न झाँकी,विभिन्न कलाकारहरुको लोकदोहोरी प्रस्तुती र खुल्ला तीजगीत प्रतियोगीताको आयोजना गरिएको हो । वि.सं २०५३ सालबाट पोखराबारीमा स्थानीय भुमिश्वर गौतमको नेतृत्वमा यो कार्यक्रम गर्न थालिएको थियो । उक्त कार्यक्रमलाई अहिलेसम्म पनि निरन्तरता दिएको स्वंयम भुमिश्वर गौतमले जानकारी दिएका छन । “सुरुका केहीँ बर्ष व्यवस्थापन नुहँदा चुरोटको बट्टामा श्री कृष्ण भगवानको तस्बिर राखेर पोखराबारी बजार परिक्रमा गराइन्थ्यो २०५९ सालमा भक्तजनको भेटीले श्री कृष्ण मन्दिरको स्थापना गरेपश्चात यसलाई व्यवस्थित बनाएर सञ्चालन गर्न थालियो उनले भने । श्रीकृष्ण जन्माअष्टमीलाई निरन्तरता दिदैैँ गर्दा रोपाईँ जात्रा पनि मनाउनु पर्छ भन्ने लागेर २०५५ सालबाट जात्रा पनि मनाउन थालिएको गौतमले जानकारी दिए । “पछिल्लो समय रोपाईँ गर्दा गाउने भाकाहरु समेत लोप भएर जाँदै गर्दा यसले त्यो कुरालाई पनि बचाउन सक्छ भन्ने लागेर रोपाईँ जात्राको सुरुवात गरिएको उनले बताए”।
कृष्ण जन्माअष्टमीको दिन श्री कृष्ण मन्दिर बाट कृष्णको रथ निकाल्ने गरिन्छ र बजार परिक्रमा गराई पोखराबारीको चौरमा रहेको पिपलको बोटमा दिनभरि राख्ने गरिन्छ र साँझ पुन मन्दिर फर्काउने गरिन्छ । यो वर्ष पनि मन्दिर व्यवस्थापन समितिले विभिन्न कार्यक्रम गरेर जन्माअष्टमी पर्व धुमधामका साथ मनाउने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गरेको हो । नारीहरुको महान पर्व हरितालिका तीजलाई समेत मध्यनजर गदै उक्त दिन खुल्ला तीजगीत प्रतियोगीता पनि आयोजना गरिएको साँस्कृतिक कार्यक्रम संयोजक किसानचन्द्र गौतमले जानकारी दिए । उक्त प्रतियोगीतामा प्रथम हुने समुहलाई १५ हजार,द्धितीय हुने समुहलाई १० हजार,तृतीय हुने समुहलाई ५ हजार र सान्त्वना हुने समुलाई २ हजार ५ सय सहित प्रमाणपत्रले सम्मान गरिने साँस्कृतिक कार्यक्रम सञ्चालक वुद्धिसागर अर्यालले बताए ।
कार्यक्रमहरु

पछिल्लो समयमा परम्परागत संस्कृति लोप हुँदै जानु दुःखद र चिन्ताको विषय रहेको भन्दैँ यसको संरक्षण गर्न सबै एकजुट भएर लाग्नुपर्ने त्यहाँका समाजसेवीहरुको भनाई रहेको छ । उक्त मेला हेर्नका लागि गुल्मी आसपासका जिल्लाहरु सँगै अर्जैँका नजिकका ठाउँहरु छापहिले, घमिर, इस्मा, अर्खवाङ्ग सँगै बाग्लुङ जिल्ला लगायत अन्य ठाउँबाट समेत मेला हेर्न आउने गर्छन् । यो बर्ष पनि हजारौ मानिसले मेलाको अवलोकन गर्ने आयोजकको विश्वास छ ।