काठमाडौँ, ११ साउन । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले कुलिङ अफ पिरियडको विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अचानक भूत जागेको टिप्पणी गरेका छन्।
कुलिङ अफ पिरियडका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत छानबिन गर्नु पर्ने भनेर दाहालले अभिव्यक्ति दिएपछि प्रतिवाद गर्दै भट्टराईले यस्तो आरोप लगाएका हुन्। प्रचण्डले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने भन्दै कुलिङ अफ पिरियडबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भट्टराईले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई नै प्रतिप्रश्न गरेका हुन्।
उनले प्रचण्डको दोहोरो भूमिकामाथि व्यङ्ग्य गर्दै आफ्नै बोली आफैँलाई गलपासो नहोसं भन्दै सचेत समेत गराएका छन । उनले सामाजीक सञ्जालमा भनेका छन, “तपाईंले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रम केपी ओलीलाई समेत छानबीन गर्नु पर्ने भनेर मंतव्य दिनु भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । निम्न विषयमा तपाईको ध्यानाकर्षण सहित जवाफको अपेक्षा गर्दछु ।
१. हामी विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नु पर्छ भन्ने पक्षमा छौ र यो विषयको संशोधन हामीले ( सांसदहरू) नै राखेका हौ । आज पनि हामी यो अड़ानमा कायम छौ ।
२. तपाईंले वर्तमान प्रम केपी ओलीमाथि व्यंग्य गर्नु भएछ । तपाई कुलिङ अफ पिरियडका सम्बन्धमा “प्रचण्ड” अड़ानमा हो भने मेरो प्रश्न छ २०८० फागुन ११ गते संसदमा बिधेयक दर्ता भएको बेला तपाई नै प्रम हुनुहुँथ्यों र तपाई कै अध्यक्षतामा बसेको मंत्रिपरिषदको बैठकले यो विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिएको हो । जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन । यसले स्पष्ट गर्दछ कि तपाई कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन । आज विपक्षी बेंचमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो? सांसदहरूको संशोधन प्रस्ताव पछि मात्र यो विषयको बहस शुरु भएको हो । यो तथ्यका बारेमा हेक्का रहोस ।
३. प्रतिनिधिसभाको राज्य ब्यबस्थ तथा सुशासन समितिको तपाईं वरिष्ठतम सदस्य पनि हो । जुन समितिले कुलिङ अफ पिरियड राखÞ्ने निर्णय गरेको थियो । तर समितिको प्रतिबेदन संसदमा पेश गर्दा यो ब्यवस्थालाई तलमाथि किन गरियो ? समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठछ होईंन र? अनि छानबिन त तपाईमाथि नै गर्नु पर्ने हो की? आफनै बोली आफैलाई गलापासो नहोस!” उनले भनेका छन्।
हिजो प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै छानबिनको दायरामा ल्याउन माग गरेका थिए । उनले संघीय निजामती ऐनमा राखिएको ‘कुलिङ अफ पिरियड’मा गरिको किर्तेमा प्रधानमन्त्रीकै मिलेमतोमा देखिएको आरोप लगाएका हुन्। अहिले राष्ट्रिय सभामा एमाले सांसदका गतिविधिबाट त्यसमा प्रधानमन्त्रीको संलग्नताको आधार पुष्टि भएको जिकिर प्रचण्डले गरे। उनले संसदीय छानबिन समितिलाई प्रधानमन्त्रीलाई पनि छानबिनको दायरामा ल्याउन माग गरिएको बताए । उनको यो अभिब्यक्तिको काउन्टर योगेशले दिएका हुन् ।