काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाका नेताहरूलाई पदमुक्त गरेपछि निर्वाचन आयोगले यसबारे राप्रपासँग जबाफ माग गरेको छ। पाँच नेताहरूले आफूहरूलाई अवैधानिक तरिकाले कारबाही गरिएको भन्दै निवेदन दिएका दिएपछि आयोगले छानबिन थालेको हो । आफूहरूमाथि विधान विपरीत कारबाही गरेको भन्दै पाँचै जना नेताहरूले निर्वाचन आयोग गुहारेका छन । उनीहरूले लिखित निवेदन दिएपछि आयोगले राप्रपामा पत्राचार गरेको आयोगकी प्रवक्ता सीता पोखरेलले जानकारी दिइन ।
अध्यक्ष लिङ्देनले अनुशासन समिति अध्यक्षबाट नवराज सुवेदी, प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई असार २५ गते र उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट मुकुन्दश्याम गिरीलाई साउन २ गते पदमुक्त गरेका थिए।अध्यक्ष लिङ्देनले विधानविपरीत र स्पष्टीकरणको मौकासमेत नदिई कारबाही गरेको भन्दै सुवेदी, लावती र गिरी निर्वाचन आयोगमा उजुरी दिन पुगेका थिए। उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय धवलशम्शेर राणा र कुन्तिकुमारी शाहीले आइतबार पनि विज्ञप्ति जारी गर्दै अध्यक्ष लिङ्देनलाई निर्णय सच्याउन आग्रह गरेका थिए । तर, लिङदेनले मानेनन् । विधानको व्यवस्था र गरिमा अवमूल्यन गर्दै प्राकृतिक कानुनको सिद्धान्त अनुरूप स्पष्टीकरणको मौकासमेत नदिई वैधानिक व्यवस्था र प्रक्रियाको उपेक्षा र उल्लंघन गर्दै उपाध्यक्ष गिरीलाई पदमुक्त गर्ने र पार्टीको प्रजातान्त्रिक छविमा आँच ल्याउने स्वेच्छाचारिता अस्वीकार्य रहेको उनीहरूको भनाइ छ।उक्त उजुरी प्राप्त भएपछि आयोगले यसबारे के भएको हो जानकारी दिनू भनेर राप्रपासँग जबाफ माग गरेको छ। असन्तुष्ट पक्षको निवेदनको आधारमा आयोगले राप्रपासँग जानकारी मागेको हो ।
राप्रपाका कोषाध्यक्ष निलकण्ठ काफ्लेले आयोगले जानकारी माग गरेर पत्र पठाएको जानकारी गराए । यता राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको विवाद चुलिँदै जाँदा महामन्त्री धवल शमशेर राणाले गत महाधिवेशनमा अध्यक्ष बन्न राजेन्द्र लिङ्देनलाई सघाएर आफूले ठूलो भूल गरेको महसुस अहिले गरिरहेकों टिप्पणी गरेका थिए । राप्रपाको अहिलेको नेतृत्व २०७८ मंसिरमा सम्पन्न महाधिवेशनबाट निर्वाचित भएको हो। अघिल्लो महाधिवेशनमा राप्रपा महामन्त्री राणाले अध्यक्षमा लिङ्देनलाई सघाएका थिए। राजसंस्था पुनस्र्थापना र हिन्दुराष्ट्र घोषणाको नाममा चलेको आन्दोलन सेलाएसँगै राप्रपाभित्र आन्तरिक कलह चर्किएको छ । राप्रपा त्यागी राजावादी आन्दोलनको नेतृत्व गरेका पूर्वपञ्चनेता नवराज सुवेदीले विगतमा सम्हालेको पार्टी अनुशासन समिति संयोजकको जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष रोशन कार्कीलाई जिम्मा दिएपछि विवाद चर्केको हो । राप्रपा संस्थापन पक्ष असन्तुष्ट पक्ष तथा संस्थापनविरुद्ध अभिव्यक्ति दिँदै आएका नेताहरूविरुद्ध कठोर हुने संकेत देखिएको छ । पार्टी अनुशासन विभागकोे शुक्रबार बसेको बैठकले पार्टीको बृहत्तर हित र एकताविपरीतका गतिविधि नगर्न।नगराउन सचेत गरेको छ । महामन्त्री राणाले अगुवाइ गरेको असन्तुष्ट समूहले लिङ्देनविरुद्ध पार्टीमा अन्तर्संघर्ष चलाउँदै जाने जनाएको छ ।