Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालको वैदेशिक व्यापार नयाँ उचाइमा, आयात र निर्यात दुवै तथ्याङ्क हालसम्मकै उच्च

नेपालको वैदेशिक व्यापार नयाँ उचाइमा, आयात र निर्यात दुवै तथ्याङ्क हालसम्मकै उच्च

काठमाडौँ । गएको आर्थिक वर्ष २०८१र८२ मा नेपालको वैदेशिक व्यापार नयाँ उचाइमा पुगेको छ । भन्सार विभागका अनुसार आयात र निर्यात दुवै तथ्याङ्क हालसम्मकै उच्च छन् ।

गएको आर्थिक वर्षमा नेपालले गरेको कुल निर्यातको आधा हिस्सा भने आयातित कच्चा भटमास तेल ९क्रुड सोयाबिन आयल० र कच्चा सूर्यमुखी तेल ९क्रुड सनफ्लावर आयल० रहेको देखिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष २०८१र८२ मा नेपालले कुल २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।

गएको आर्थिक वर्षमा १८ खर्ब चार अर्ब १२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा दुई खर्ब ७७ अर्ब तीन करोड रुपैयाँ बराबरको निर्यात भएको छ । त्यसबाट नेपालले १५ खर्ब २७ अर्ब नौ करोड २५ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ ।

विभागका निर्देशक किशोर बर्तौलाका अनुसार गएको आर्थिक वर्षमा भएको आयात र निर्यात दुवै हालसम्मकै उच्च हो । अघिल्लो आर्थिक वर्ष २०८०र८१ को तुलनामा गएको आर्थिक वर्षमा आयात १३ दशमलव २५ र निर्यात ८१ दशमलव ८० प्रतिशतले बढेको विभागको तथ्याङ्कबाट देखिएको छ ।

समग्र वैदेशिक व्यापार १९ दशमलव २४ प्रतिशतले बढ्दा व्यापार घाटा ६ प्रतिशतले बढेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ६९ र निर्यातको हिस्सा १३ दशमलव ३१ प्रतिशत रहेको छ ।

नेपालले सबैभन्दा धेरै वैदेशिक व्यापार गर्ने देश भारतसँग गएको वर्ष १० खर्ब ७१ अर्ब २० करोड रुपैयाँ बराबरको आयात र दुई खर्ब २४ अर्ब ६८ करोड ४३ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ ।

त्यसबाट भारतसँग मात्र आठ खर्ब ४६ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ बराबर नेपालले व्यापार घाटा बेहोरेको छ । त्यस्तै चीनबाट तीन खर्ब ४१ अर्ब १० करोड ४५ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा २६ अर्ब ३० करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।

अर्जेन्टिना, युक्रेन, यूएईलगायत देशसँग नेपालले बढी व्यापार घाटा बेहोरेको छ । नेपालले सबैभन्दा धेरै व्यापार नाफा गरेका देशमा अफगानिस्तान, डेनमार्क, रसिया, रोमानिया, अस्ट्रिया, लाओसलगायत छन् ।

सबैभन्दा धेरै अफगानिस्तानसँग ६८ करोड ६१ लाख १७ हजार रुपैयाँ र डेनमार्कसँग ३३ करोड ८९ लाख १३ हजार रुपैयाँ व्यापार नाफा गरेको विभागको तथ्याङ्कबाट देखिन्छ ।

बढी आयात भएको वस्तुको पहिलो स्थानमा पेट्रोलियम पदार्थ देखिएको छ । गएको आर्थिक वर्षमा एक खर्ब २८ अर्ब ७६ करोड १६ लाख रुपैयाँ बराबरको डिजेल, ६४ अर्ब १२ करोड ७४ लाख रुपैयाँ बराबरको पेट्रोल र ६२ अर्ब ५८ लाख ७२ हजार रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।

यस्तै ३५ अर्ब ५४ करोड ७३ लाख रुपैयाँ बराबरको स्मार्टफोन, १८ अर्ब ६२ करोड रुपैयाँ बराबरको विद्युतीय कार आयात भएको छ ।

विभागको तथ्याङ्कअनुसार एक खर्ब आठ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ बराबरको कच्चा भटमास तेल र २९ अर्ब दुई करोड १९ लाख रुपैयाँ बराबरको कच्चा सूर्यमुखी तेल आयात भएको छ ।

नेपालले बढी निर्यात गर्ने वस्तुमा पनि भटमास तेल र सूर्यमुखी तेल शीर्ष स्थानमा छन् । सबैभन्दा बढी निर्यात भएका वस्तुमा सोयाबिन तेल एक खर्ब ६ अर्ब ७९ करोड १२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

त्यस्तै, सूर्यमुखी तेल १२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । कार्पेट १० अर्ब ७७ करोड ६८ लाख रुपैयाँ, अलैँची सात अर्ब ६८ करोड ३७ लाख रुपैयाँ, छुर्पी चार अर्ब ५१ करोड रुपैयाँ र चिया चार अर्ब २१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

विभागका निर्देशक बर्तौलाका अनुसार गएको आर्थिक वर्षमा यी वस्तुको नेपालले निर्यात गरेको भन्दा बढी आयात छ ।

त्यस्तै मूल्य अभिवृद्धि पनि न्यून रहेको उहाँको भनाइ छ । ‘आयातित भटमास र सूर्यमुखी तेल नै बढी निर्यात भएको देखिन्छ, यस क्षेत्रले रोजगार सिर्जना र मूल्य अभिवृद्धिमा खासै ठूलो योगदान गरेको देखिँदैन’, उहाँले भन्नुभयो ।

दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्झौता ९साफ्टा० को सुविधाका रुपमा नेपालका व्यवसायीले खानेतेलमा एक तहको प्रशोधन र मूल्य अभिवृद्धि गरी लाभ पाएका छन् ।

साफ्टा सुविधाअन्तर्गत भारतले नेपाललाई भन्सार छुट सुविधा उपलब्ध गराइरहेका कारण त्यसलाई नेपाली व्यवसायीले अवसरका रुपमा लिएको देखिएको छ ।

विगतमा नेपालबाट पाम तेलको निर्यात सबैभन्दा बढी हुने गरेको भए पनि २०७७ साल पुसमा नेपालबाट हुने पाम तेल निर्यातमा भारतले कडाइ गरेको थियो । त्यसयता भटमासको तेलको निर्यात बढ्दै गएको देखिएको छ ।