काठमाडौँ । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । उक्त प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्दै राजीनामा गर्न निर्देशन दिएपछि अहिले मन्त्री राजीनामा बोकेर मन्त्री गुप्ता बालुवाटार पुगेका हुन। प्रधानमन्त्री ओलीले यसबारेमा हिजो बालुवाटार बोलाएर यसमा संलग्न व्यक्तिहरूबारे पनि गुप्तालाई सोधपुछ गरेका थिए ।
उक्त अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइसकिएको छ । यस विषयमा छानबिन र मन्त्री बर्खास्तीका लागि चौतर्फी दबाब भइरहेको छ । विपक्षी दलहरू, नागरिक समाजले मात्र होइन, सत्तारूढ एमाले–कांग्रेसकै नेता।कार्यकर्ताले समेत मन्त्री गुप्तामाथि कारबाही र छानबिनको माग गरिरहेका थिए । मन्त्री गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुस रकम डिल गरेको अडियो सार्वजनिक भएपछि सत्ता र प्रतिपक्षीका सांसदहरूले उनको राजीनामा र सरकारको जवाफ माग भईरहेको थियो ।
मन्त्री गुप्ताविरुद्ध गत १० असारमै अख्तियारमा उजुरी परेको थियो । यसबारे अख्तियारले छानबिन अघि बढाएको जनाए पनि अवस्था यकिन छैन । घुस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ता र भूमि व्यवस्थामन्त्री अधिकारीलाई मन्त्री पदबाट निलम्बन गरी हदैसम्मको कारबाही गर्न मागसहित प्रधानमन्त्री कार्यालयमा आइतबार उजुरी दर्ता भएको छ । घुस विवादमा मन्त्री गुप्ताले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई समेत तानेका छन् । सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूले कुनै डिलिङ गरेको र पैसा लिएको प्रमाण देखाउन चुनौती दिएका छन् । । केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो । यस विषयमा छानबिन र मन्त्री बर्खास्तीका लागि चौतर्फी दबाब भइरहेको छ ।
मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको छ । मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुसको डिल गरेको छुट्टै अडियो पनि सार्वजनिक भएको छ ।नेकपा एमालेबाट पर्सा–३ बाट प्रतिनिसभामा निर्वाचित गुप्तालाई प्रधानमन्त्री ओलीले नै सामान्य प्रशासनमन्त्रीमा नियुक्त गरेका हुन । वाणिज्यशास्त्रमा स्नातकसम्म अध्ययन गरेका गुप्ता राजनीतिसँगै व्यापार पनि गर्छन ।संसदीय राजनीतिमा दोस्रो पटकको पालमा उनी मन्त्री बनेका हुन । उनी २०७० को दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।२०७९को संसदीय चुनाव जितेका उनी यसपटक केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीयता कार्यान्वयन र कर्मचारी प्रशासन मामिला हेर्ने मन्त्रीका रुपमा नियुक्त भएका हुन ।