Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमेरिकाले निष्कासन गरेपछि नेपाल आएका चारजना भुटानी शरणर्थी नागरिक बिचल्लीमा

अमेरिकाले निष्कासन गरेपछि नेपाल आएका चारजना भुटानी शरणर्थी नागरिक बिचल्लीमा

काठमाडौँ । अमेरिकाले निष्कासन गरेपछि नेपाल आएका चारजना भुटानी शरणर्थी नागरिक बिचल्लीमा परेका छन । अमेरिका र भुटानले अस्वीकार गरेका चारजना भुटानीलाई नेपालले समेत निष्कासन गर्ने निर्णय गरेपछि उनीहरूले थप समस्यामा परेका छन । नेपालको अध्यागमन विभागको निर्णयका कारण ती भुटानी नागरिकहरू अहिले यता न उताको जस्तै भएका छन ।

गत असार ६ गते विभागले अमेरिकाबाट डिपोर्ट भई नेपाल छिरेका आशीष सुवेदी, अशोक गुरुङ, सन्तोष दर्जी र रोशन तामाङलाई देश निष्कासन गर्ने निर्णय गरी अध्यागमन कार्यालय काँकरभिट्टामा पत्र पठाएको हो । विभागले पत्र पठाएपछि निष्कासनको प्रक्रिया अघि बढाउन कार्यालयले चार जनालाई पत्र थमाएको छ । पत्रमा लेखिएको छ सन् १९९० को दशकमा भुटानी शरणार्थीका रूपमा नेपाल आएका उनीहरू १० वर्ष पहिले पुनर्वास भएका थिए । अमेरिकाले डिपोर्ट गरी पैतृक देश भुटान छाडेकोमा उनीहरू यसरी पारिवारिक र भाषाको कारण भनेर नेपाल प्रवेश गर्नु गैरकानुनी भएको विभागको भनाइ छ । उनीहरू भुटानी नागरिक भएको तथा भारतबाट स्थलमार्ग हुँदै गैरकानुनी रूपमा नेपाल प्रवेश गरेको ठहर विभागको छ ।उनीहरू १९ मार्च २०२५ मा नेपाल प्रवेश गरेका थिए ।

त्यसअनुसार भिसा शुल्क, विलम्ब शुल्कलगायत दस्तुर लिई प्रवेश भिसा जारी गर्नुपर्नेमा चार भुटानी शरणार्थीसँग राहदानी र भिसा जारी गर्न आवश्यक कागजात नरहेकाले तत्काल आफ्नो देशको राहदानी वा भिसा जारी गर्न आवश्यक यात्रासम्बन्धी कागजात पेस गर्न पत्रमा भनिएको छ । ‘तपाईँ भुटानी नागरिक भएको तथा भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेको र प्रवेश हुने क्रममा विदेशी नागरिकले प्रवेश स्थलबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्नुपर्नेमा सो नगरेको अवस्था रहेको देखिन्छ,’ कार्यालयले उनीहरूलाई थमाएको पत्रमा भनिएको छ, ‘अध्यागमन ऐन २०४९ को दफा ३ ९१० मा कुनै पनि विदेशीले राहदानी र भिसा नलिई नेपालभित्र प्रवेश गर्न र नेपालमा बस्न पाउने छैन भन्ने व्यवस्था रहेको छ । यसमा तपाईँले उक्त प्रावधान विपरीत कार्य गरेको हुँदा दफा १० ९४० बमोजिम जनही पाँच हजार रुपैयाँ जरिवाना हुने ठहर्छ ।’

अमेरिकाले गएको चैतमा १८ जना भुटानी शरणार्थीलाई डिपोर्ट गरेको थियो । तीमध्ये चार भुटानबाट भारतीय बाटो हुँदै नेपाल छिरेका थिए । पछि कानुनी झन्झट नहोस् भनेर बेलडाँगी शिविरमा बसिरहेका आशीषका बुवा नारायणकुमारले आफैँ प्रशासनमा खबर गरेका थिए । त्यसपछि उनीहरूलाई त्यही दिन अध्यागमन कार्यालयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको बन्दी गृहमा राखेको थियो । ती कागजात प्राप्त भएपश्चात् निष्कासनको प्रक्रिया अघि बढाइने जानकारी पनि कार्यालयले उनीहरूलाई पत्रमार्फत दिएको छ । कार्यालयले उक्त कागजात पेस नगर्दासम्म स्थानहद तोकेको छ । प्रहरीको इकाइमा जानकारी गराएर दमकभन्दा बाहिर नजानेगरी उनीहरूलाई गत वैशाख १२ गतेको निर्णयबमोजिमकै स्थानहद तोकिएको पनि कार्यालयले पत्रमार्फत जानकारी गराएको छ ।