काठमाडौँ । स्पेनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै नया अनुहार सहितको मन्त्रिमण्डल बन्ने भएको छ । कांग्रेस र एमाले गठबन्धनको एक वर्ष पुग्न लाग्दा ओली र देउवाले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरू गरेका छन । संघीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले बीच २०८१ असार १७ गते ७ बुँदे सहमति भएर त्यसैको जगमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको एक बर्ष बित्न लागिसकेको छ ।
तर यता कांग्रेस र एमालेबीच सत्ता सहकार्यको एक वर्ष बित्न लाग्दासमेत संविधान संशोधनको एजेन्डा कार्यान्वयनमा आउन नसकेको भन्दै कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउदै आएका छन ।सातबुँदे सहमति भएको एक वर्ष पूरा भइसकेको छ भने सरकारले पनि एघार महिना पूरा गरिसकेको छ । यहि सन्दर्भमा केही मन्त्रीलाई निरन्तरता दिएर नयाँ अनुहार ल्याउने तयारी भइरहेको छ । कार्यक्षमता कमजोर देखिएका र नतिजा दिन नसकेका ‘रेड जोन’ मा रहेको मन्त्रीहरुमा हेरफेर हुने छ । अहिले कुन कुन मन्त्रीहरुलाई यथावत अवस्थामा राख्ने र कुनकुन मन्त्रिलाई पदबाट हटाएर नया अनुहार राख्ने बारे दुईपार्टीबिच छलफल भईरहेको छ ।
कांग्रेसबाट उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको नेृत्वमा अहिले १० जना मन्त्री छन् ।कांग्रेसका अन्य मन्त्रीमा रमेश लेखक गृह, आरजु राणा देउवा परराष्ट्र, प्रदीप पौडेल स्वास्थ्य, बद्री पाण्डे पर्यटन, रामनाथ अधिकारी कृषि, तेजुलाल चौधरी खेलकुद, अजय चौरसिया कानुन, दीपक खड्का ऊर्जा र ऐनबहादुर शाही वनमन्त्री छन् ।गृह, पर्यटन, कृषि, कानून र ऊर्जामन्त्री विवादमा परिरहेका छन् । उनीहरूको कार्यक्षमतालाई लिएर कांग्रेसभित्रै प्रश्न उठिरहेको छ । देउवाले धेरैजसो नयाँ अनुहार पठाउन सक्ने बताइएको छ ।यस्तै, एमालेबाट प्रधानमन्त्रीसहित उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा कुल ८ जना सरकारमा छन् । जसमा पृथ्वीसुब्बा गुरुङ सञ्चार, बलराम अधिकारी भूमि, दामोदर भण्डारी उद्योग, देवेन्द्र दाहाल भौतिक, रघुजी पन्त शिक्षा, मानवीर राई रक्षा र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् ।ओलीले पनि नयाँ अनुहारलाई नै जोड दिने पार्टीमा चर्चा छ ।
यस्तै, अशोक राई नेतृत्वको जसपाबाट प्रदीप यादव खानेपानी, नवलकिशोर साह सुडी महिला र लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री छान् । जसपा र लोसपाबाट सरकारमा गएका मन्त्रीहरूको पनि कार्यसम्पादनप्रति प्रधानमन्त्री सन्तुष्ट छैनन । केही सिनियरबाहेक अरु मन्त्री बाहिरिएर नयाँले मौका पाउने सम्भावना रहेको नेताहरु बताउँछन । पछिल्ला दिनहरुमा सरकारमा रहेका मन्त्रीहरुको आलोचना जनस्तरबाटपनि ब्यापक रुपमा उठि रहेको छ । भाषण र रिवनकाटने काममा मात्र सिमित रहेको र जनतका आवाज र समस्याप्रति कुनै सुनुवाई नगरेको भरेर आलोचना बढिरहेको छ।