काठमाडौँ । नेपाली इतिहासको सबैभन्दा रहस्यमय र कहालीलाग्दो घटना मानिने दरबार हत्या काण्ड भएको २४ वर्ष पूरा भएको छ। राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।२०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको यो भयानक घटनाले नेपालको राजनैतिक, सामाजिक र सांस्कृतिक परिदृश्यलाई सधैंका लागि बदलिदियो। नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो। त्यही भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्गविक्रम शाहको हत्या भएको थियो।
अर्ध अवस्थामा रहेका तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो। दीपेन्द्र अर्ध मूच्र्छित भई अस्पतालमा उपचाररत रहेकाले तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो। पछि दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरियो। तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई दरबार हत्याकाण्डको छानबिन गरी प्रतिवेदन पेश गर्न सरकारले निर्देशन दियो। छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिएपनि आम नेपालीले अहिलेसम्म पनि यसलाई स्वीकार गरेका छैनन्।
पूर्वराजा वीरेन्द्रको परिवार मारिएको सम्झनामा आज विशेष कार्यक्रम गरी यो दिवस मनाइँदैछ। यस अवसरमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि सभा आयोजना गर्दैछ। तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेर पछि आफैँलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिए पनि धेरैले यसको विश्वास गरेका छैनन् । दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय संयोजक र तत्कालीन सभामुख तारानाथ रानाभाट सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन भए पनि त्यसपछि यसबारे कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भएको थियो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने । अहिले उनै ज्ञानेन्द्र वा ज्ञानेन्द्रका सन्तानलाई राजगद्दीमा फर्काउनुपर्ने मागसहित राजावादीहरुले आन्दोलन गर्दै आएका छन् ।
यता राजसंस्था पुनस्स्थापना, हिन्दू राष्ट्रलगायतको एजेण्डासहित आन्दोलन थालेका राजावादीहरूले आज प्रदर्शन स्थगित गर्ने भएका छन् ।राजा फर्काउन गठित ‘संयुक्त जनआन्दोलन समिति’ ले जेठ १९ दरबार हत्याकाण्डको शोकको दिन भएकाले जुलुस, धर्नाजस्ता आन्दोलनका कार्यक्रम नगर्ने जनाएको हो । संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा साँझ कमलादी गणेशस्थानमा दिवंगत वीरेन्द्रलगायत परिवारको आत्माको शान्तिको कामका लागि दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुन आव्हान गरिएको छ ।