Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज प्रतिनिधिसभाको बैठक बस्ने,के के छन् कार्यसूची ?

आज प्रतिनिधिसभाको बैठक बस्ने,के के छन् कार्यसूची ?

काठमाडौँ । आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११।०० बजे बस्ने कार्यसूची रहेको छ । मङ्गलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकका लागि सङ्घीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने कार्यसूची तय भएको छ ।

यसैगरी, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१र८२ को आर्थिक सर्वेक्षण पेस गर्नुहुनेछ । सम्भावित कार्यसूची अनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ । यसैगरी, प्रतिनिधिसभाको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।

युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी दिए । यद्यपि विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै आज पनि सदन अवरोध गर्ने तयारी गरेकोले बैठक सुचारु हुनेमा आशंका कायमै छ ।