काठमाडौँ । एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । पोखराको सूर्यदर्शन सहकारीमा उपाध्यक्षबाट अध्यक्ष बन्न गितेन्द्रबाबु जीबी राईले नदिएपछि बागलुङ र कास्कीमा आफैं सहकारी खोलेर मनमौजी गरेका इमेज सहकारी खोलेर जनताको बचत रकम अपचलन गरेको प्रकरणमा बागलुङपछि कास्की जिल्ला अदालतबाट पनि उनलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश भएको हो ।
नेकपा माओवादीबाट टिकट नपाएपछि रातारात एमाले प्रवेश गरेर टिकट पाएर २०७४ सालमा ढोरपाटन नगरपालिकाको मेयर जितेका नेपालीले २०७९ सालको चुनावमा पनि एमालेबाट दोस्रोपटक मेयर जितेका थिए । असोज १५ गते बागलुङ जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले पुर्पक्षका लागि कारागार चलान भएका देवकुमारलाई सोमबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेस्बासेको इजलासले पनि थुनामै राख्ने आदेश गरेको छ । सूर्यदर्शन सहकारीमा उपाध्यक्षबाट अध्यक्ष बन्न जीवी राईले नदिएपछि देवकुमारले आफैं सहकारी खोलेर जनताको बचत रकबाट समाजमा ठूलो रवाफ देखाउनेदेखि आफ्ना नाममा बागलुङ, पोखरा, काठमाडौं, नवलपुर, चितवनजस्ता ठाउँमा घरजग्गा जोड्ने, हेलिकप्टरमा सवार गर्ने गरेको उनीमाथि आरोप थियो । यसअघि बिहीबार जिल्ला अदालत कास्कीले पोखराकै सूर्यदर्शन सहकारी प्रकरणमा नेपालीलाई धरौटी माग गर्ने आदेश गरेको थियो ।
न्यायाधीश कृष्णजंग शाहको इजलासले बागलुङ कारागारमा रहेका मेयर नेपालीलाई २० लाख धरौटी माग गर्ने आदेश गरेको थियो । नेपालीलाई ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले २०८१ असोजमा थुनामा पठाउने आदेश दिएको थियो । नेपालीले बागलुङ र पोखरामा गरी २ वटा इमेज बचत तथा ऋण सहकारी संस्था खोलेका थिए । दुवै सहकारीमा गरी नेपाली नेतृत्वमा २ अर्ब अपचलन भएको छानबिन प्रतिवेदनमा उल्लेख छ । पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रहेका नेपालीले उक्त सहकारीका तत्कालीन अध्यक्ष जिबी राइसँग विवाद भएपछि छाडेर इमेज सहकारी खोलेका थिए ।
ढोरपाटन नगरपालिकाका मेयर भएपछि पनि नेपाली दुवै ठाउँमा खुलेको इमेज सहकारीका अध्यक्ष थिए । सहकारीमा बचत राखेका सर्वसाधारणले आफ्नो बचत फिर्ता माग्न थालेपछि नेपाली १६ महिना फरार भएका थिए । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०८१ असोज ११ गते भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।
सहकारीको सबैभन्दा धेरै रकम हिनामिना गरेको आरोप लागेका गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई अझै पक्राउ परेका छैनन् । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका उपाध्यक्ष छविलाल जोशी पक्राउ परेर कारबाहीको दायरामा आएका छन् । तर मुख्य आरोपी जीबी राईलाई भने प्रहरीले अझै कारबाहीको दायरामा ल्याउन सकेको छैन । सहकारीको २ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोपमा इन्टरपोलमार्फत् रेड नोटिस जारी गर्दा पनि जीबीलाई कारवाहीको दायरामा ल्याउन किन नसकिएको हो त रुजिल्ला प्रहरी कार्यालय कास्कीले जीवीलाई प्रतिवादी बनाएर मुद्दा चलाए पनि फरार सूचीमा छन् । प्रहरीले निकालेको सूचनामा राई मलेसियामा छन् भनिएको थियो ।