काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीले सडक कब्जा गर्ने भन्दै उत्तेजक भाषण गरेका कारण १५ जेठमा राजावादी र एमाले आमनेसामने हुने सम्भावना बढाएको छ । त्यसले गर्दा प्रदर्शन हिंसात्मक हुने संभावना पनि बढाएको छ । त्यसैले, अहिले एमालेको आलोचना पनि हुन थालेको छ । एमालेले राजावादीहरूको आन्दोलन रोक्न जेजस्तो गर्नुपर्छ त्यस्तै तयारीमा लाग्नसमेत निर्देशन दिएको छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रतिगामीहरूले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन पनि निर्देशन दिएका छन्।
‘निर्देशनपछि आउँछ। तपाईंहरू जस्तो, जे गर्नुपर्छ, तयारी हालतमा बस्नुहोस्।’ उनले भने, ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा एमालेको नियन्त्रण हुनुपर्छ। कसरी, कुन संस्था अगाडि लाग्छ, कुन संस्थाले आयोजना गर्नुपर्छ, त्यसलाई छोडिदिनुहोस्।’ जेठ १५ गते फेरि राजावादी र गणतन्त्रबादी सडकमा आमनेसामने हुदै छन । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि आह्वान गरिरहेका छ । यहि बिचमा नेकपा एमालले पनि सोही राजाबादीहरुको जेठ १५ गते आन्दोलनलाई समेत ध्यान दिएर एमालेले ‘काउन्टर’ प्रदर्शनको तयारी थालेको छ । राजतन्त्र समर्थकले जनआन्दोलन लक्षित गरी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको उत्तेजक र गैरजिम्मेवार अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सोमबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्। प्रधानमन्त्रीले उत्तेजनापूर्ण अभिव्यक्ति दिए पनि आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढ्ने सुवेदीले उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरूप रहनेछ। बढीभन्दा बढी संख्यामा आन्दोलनमा सहभागी भएर सरकारको दमनकारी सोचको जवाफ दिन आमजनतामा म अपिल गर्दछु।’ राप्रपाले जेठ १५ गतेदेखि देशका विभिन्न भागहरुमा स्वतस्फुर्त जुलुस धर्ना लगायत जनप्रदर्शनहरु गर्न अपिल हुन थालेपछि गणतन्त्रवादीहरु पनि राजावादी आन्दोलनलाई निस्तेज पार्नुपर्ने सार्वजनिक मञ्चबाट धारणा राख्न थालेका छन्।
पछिल्लो समयमा अन्य नेताको तुलनामा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजावादीप्रति बढी आक्रामक छन्। यद्यपी, सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेपछि एमाले र सरकारका विरुद्ध भ्रम छरेर प्रचण्डले राजावादीलाई हौस्याउने काम गरिरहेको आरोप एमालेले लगाउँदै आएको छ। पछिल्लो प्रजातन्त्र दिवसयता पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी दल तथा घटकहरू सक्रिय छन्। यो गणतन्त्रवादीहरूका लागि ुसह्यु विषय छैन। त्यसैले उनीहरूले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन्। राजावादीहरूले स्वयम् पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै सहभागी गराउने प्रयत्न गरेका छन्। त्यसकै लागि राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदी, समितिको जनकमान्डर दुर्गा प्रसाईंलगायतले पूर्वराजालाई भेटिसकेका छन्।