काठमाडौँ । राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रास्वपा लाई सहकार्यका लागि प्रस्ताव गरेका छन । सुवेदीले रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई पत्र नै पठाएर राजावादी आन्दोलनमा सहकार्यको प्रस्ताव गरेका हुन । उनले संयुक्त जनआन्द्योलन समितिले जेठ १५ गतेदखि आन्दोलन प्रारमभ गर्न लागेको अवगत गराएका छन । पछिल्लो समयमा राजावादीको आन्दोलन चर्किने सम्भावना बढेको छ । पुर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता सँगै राजावादीहरु हौसिरहेका छन । रास्वपा लाई पठाएको पत्रमा भनिएको छ, ‘तपाईंको पार्टीका सभापति श्री रवि लामिछानेज्यूले पनि हालको व्यवस्था अन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शंका व्यक्त गर्नुभएको तथ्य सर्वविदित छ । राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलिय हस्तक्षेप र दलीयकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा यस व्यवस्थाबाट तपाईंहरू पनि सन्तुष्ट हुनुहुन्न भन्ने हाम्रो बुझाइ छ । यसैले वर्तमान व्यवस्था परिवर्तन गर्नु आजको ऐतिहासिक आवश्यकता हो भन्ने कुरामा हामीबीच साझा समझदारी हुन सक्ने आशा लिएको छु ।’
उनले रास्वपाको मूल सैद्धान्तिक चिन्तन र वर्तमान व्यवस्थाप्रतिको आलोचनालाई दृष्टिगत गर्दै आन्दोलनमा सहकार्य र सहभागिताको लागि अनुरोध गरेका छन ।
‘आउनुहोस्, यो चरम दलीयकरण र अव्यवस्थाको अन्त्य गरी राष्ट्रिय पहिचान, न्याय, धर्म र लोकतन्त्र पुनःस्थापित गर्ने हाम्रो साझा लक्ष्यका लागि संयुक्त रूपमा अघि बढौं, संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र, बहुदलिय प्रजातन्त्र पुुनःस्र्थापना गरौं’, पत्रमा भनिएको छ ।
त्यसो त रास्वपा गणतन्त्र र राजसंस्था दुबैको कित्तामा स्पष्ट नखुलेको पार्टी हो। आवश्यक परे निर्णय लिने तर, अहिले नबोल्ने भन्दै आएको रास्वपालाई सुवेदीले पत्रमार्फत राजावादी आन्दोलनका लागि सहकार्यको प्रस्ताव पठाएका हुन । कतिपय रास्वपा नेताहरूले आफ्नो तहबाट गणतन्त्रको पक्षमा वकालत गरिरहेका छन्। तर, रास्वपाले संस्थागत रूपमा भने बोलेको छैन। गणतन्त्रको पक्षमा नखुल्दा रास्वपाका प्रति आलोचना हुने गरेको छ । जनआन्दोलन समितिले आउँदो जेठ १५ गते अनिश्चितकालीन आन्दोलन सुरु गर्दैछ। सुवेदीले त्यहीँबाटै सहकार्य सुरु गर्न प्रस्ताव पठाएका छन ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ‘सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने’ घोषणा गरेका हुन । आन्दोलनको संयोजन सुवेदी नेतृत्वको समितिमार्फत नै हुने पनि बताइएको छ । संयोजक सुवेदीले उक्त आन्दोलन शान्तिपूर्ण हुने बताएका छन । यतिबेला राजावादी दल संगठनहरु पनि सक्रिए भएका छन ।
