काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदन आज तेस्रो दिन पनि हेर्न नमिल्नेमा परेका छन् । न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा पेशी तोकिएको थियो तर हेर्न नमिल्नेमा परेको हो । न्यायाधीश मुसलमानले छविलाल जोसीको मुद्दा चल्नेक्रममा अनुसन्धानका लागि पक्राउ पर्दा नै बन्दीप्रत्यक्षीकरणको मुद्दा हेरेकाले अहिले हेर्न नमिल्ने भनेपछि आज पनि हेर्न नमिल्नेमा परेको हो ।
हिज पनि रविको निवेदन हेर्न नमिल्नेमा राखिएको थियो । यही वैशाख ९ मा न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले रविको निवेदनमा कारण देखाउ आदेश जारी गरेको थियो। त्यसपछि यो निवेदनको अन्तिम किनारा लाग्न सकेको छैन। उक्त मुद्दा आइतबार पनि हेर्न नमिल्नेमा परेको थियो । उक्त दिन न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा तोकिएको थियो । न्यायाधीश हुनुअघि सुनिलकुमार पोखरेलले रविकै तर्फबाट बहस गरेका कारण सो निवेदन हेर्न नमिल्ने भएको थियो । लामिछाने पत्नी निकिता पौडेलले वैशाख ७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेकी थिइन् । रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले सुनुवाइ गर्न नसके पछि विभिन्न शंकाहरु उब्जिन थालेका छन । संविधानले प्रत्येक नागरिकलाई गैरकानुनी गिरफ्तारीविरुद्ध लड्ने अधिकारका रूपमा बन्दीप्रत्यक्षीकरणको मुद्दा प्रयोग गर्ने व्यवस्था दिएको छ ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी रकम माग गरेको थियो ।बन्दी प्रत्यक्षीकरणजस्तो संवेदनशील मुद्दामा शीघ्र सुनुवाइमा जानुपर्नेमा सरकारले सुनुवाइ सार्ने, मिति सार्नेजस्ता अनेक उपायहरु अपनाइरहेको आरोप लागेको छ ।बन्दी प्रत्यक्षीकरण कुनै पनि व्यक्तिलाई राज्यले गैरकानुनी रूपमा थुनेको अवस्थामा दायर गरिने संवेदनशील मुद्दा हो । तर, राज्यले गैरकानुनी रूपमा पक्राउ गरेर थुनामा राखेको भन्दै सर्वोच्चमा निवेदन परेको थियो ।सुप्रिम सहकारी ठगीको मुद्दामा लामिछाने अहिले रुपन्देही कारागारमा छन्। उनलाई जिल्ला अदालतले एक करोड रुपैयाँ धरोटीमा हिरा गर्न आदेश दिएको थियो। तर उक्त आदेश बदर गर्दै उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। आदेश लगतै लामिछानेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले निवासबाटै पक्राउ गरेर हिरासतमा राखेको थियो। त्यसको भोलिपल्ट रुपन्देही लगेर उनलाई कारागार चलान गरिएको थियो। यस्तै उनीसँगै कारागारमा रहेका छविलाल जोशीको निवेदन पनि सँगै पेशी तोकिएको छ। छविलाई भने जिल्ला अदालतले नै थुनामा पठाएको थियो। आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दुवैले सर्वोच्चमा निवेदन दिइसकेका छन्। ती निवेदन पनि साथै राखेर सुनुवाइ गर्ने गरी पेशी तोकिएको हो।
लामिछाने लामो समय देखी कारराघारमा बसिरहेका छन् । पछिल्लो समय उनको पक्षमा आवाजहरु उठीरहेको भए पनि खासै चासो भने सम्बन्धीत पक्षले दिन सकेको छैन ।यता छविलाल भने रुपन्देही जिल्ला अदालतको आदेशबाट नै पुर्पक्षका लागि थुनामा छन् । उनले जिल्ला अदालतको आदेश बदर गरी आफूलाई साधारण तारेखमा छोड्न माग गर्दै उच्च अदालत तुल्सिपुरको बुटवल इजलासमा ७३ नम्बरको निवेदन दिएका थिए । तर, उच्च अदालतबाट पनि जिल्लाको आदेश सदर भएपछि उच्चको आदेश बदर माग गर्दै ७३ नम्बर निवेदन सर्वोच्चमा रिट दायर गरेका हुन् ।