Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पक्राउ पुर्जी जारी भएका एमाले नेता ओली सँगै कार्यक्रममा,प्रहरीले नदेँखे जस्तो गर्यो

पक्राउ पुर्जी जारी भएका एमाले नेता ओली सँगै कार्यक्रममा,प्रहरीले नदेँखे जस्तो गर्यो

काठमाडौँ । एक वर्ष अघि बाट पक्राउ पुर्जी जारी भएर पनि प्रहरीले नसमातेका एमाले नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा देखिएका छन । पन्थीमाथि करिब एक वर्षअघि नै पक्राउ पूर्जी जारी गरे पनि अहिलेसम्म उनी पक्राउ परेका छैनन् । मोरङ जिल्ला अदालतले अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै पन्थी र देवराज खनाललाई जनही ६ महिना कैदको सजाय सुनाएको थियो ।

पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका पन्थी कपिलवस्तु–१ (१) बाट निर्वाचित सांसद हुन् । उनी काठमाडौँस्थित गौतमबुद्ध हाइड्रोपावर प्रालिका सञ्चालक हुन् । सो कम्पनीले पल्लवी इलेक्ट्रा प्रालिबाट २०७३ सालमा उधारो लिएको १८ लाख ५४ हजार रुपैयाँमध्ये १३ लाख ५४ हजार रुपैयाँ फिर्ता नगरेपछि अदालतमा मुद्दा दर्ता भएको थियो। सो मुद्दाउपर मोरङ अदालतले २०७७ सालमा बाँकी रकम तिर्न आदेश दिएपनि कार्यान्वयन नभएपछि २०८१ मा जनही ६ महिनाको कैद तोकिएको हो । पन्थीविरुद्ध मोरङ जिल्ला अदालतले २०८१ जेठ ३२ गते पक्राउ आदेश जारी गरेको थियो । अदालतले २०८१ असार १२ गते जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी उपस्थित गराइदिन भनेको थियो ।

त्यसपछि २०८१ साउन ६ गते काठमाडौं प्रहरी परिसरले पन्थी रुपन्देही जिल्ला प्रहरी कार्यालयको मातहत बस्ने गरेको भन्दै उनीहरुलाई फेला पारेमा जिल्ला अदालत मोरङमै पठाइदिन भनेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सोही पत्रमा इलाका प्रहरी कार्यालय बुटवलमा लेखी पठाउन तोक आदेश गरेको थियो । यसरी प्रदेश सभा सदस्य पन्थीलाई पक्राउ गर्ने सम्बन्धी पत्र पछिल्लो एक वर्षमा प्रहरी युनिटमा घुमिरहेको छ । तर पन्थीसम्म प्रहरी पुगेको छैन । पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय काठमाडौं, रुपन्देही, अपराध अनुसन्धान शाखालगायत सबै युनिटमा पठाइएपनि अहिलेसम्म कार्यान्वयन भएको छैन । प्रहरीमा पक्राउ पुर्जी जारी भएको अवस्थामा पनि सांसद पन्थी भने सार्वजनिक कार्यक्रममा खुलेआम सहभागी भइरहेका छन । उनी सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा समेत प्रमुख अतिथिको आसनमा सहभागी थिए । सो कार्यक्रममा प्रधानमन्त्री ओलीसमेत सहभागी थिए ।

सार्वजनिक कार्यक्रममा प्रहरीकै सुरक्षाबिच बसेका उनी पक्राउ परेनन् । राजनीतिक पहुँचकै कारण उनलाई प्रहरीले पक्राउ नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । सांसद पन्थीले भने आफू हाइड्रोपावरका जिम्मेवार व्यक्ति नभएको दाबी गर्दै सारा जिम्मेवारी देवराज खनालको भएको बताउँदै आएका छन् ।