काठमाडौँ । रवि लामिछानेलाई भेट्न मिटरब्याज पीडित किसान–मजदुरहरु भैरहवा कारागारमा पुगेका छन । उनीहरुले कारागार मै पुगेर आफना दुखेसो पोखेका छन । सरकारले आफुहरुलाई नचिनेको बताउँदै उनीहरु रवि भेट्न पुगेका हुन । गृहमन्त्रीका रुपमा रवि लामिछानेले गरेका सम्झौता नयाँ सरकार बनेपछि कार्यान्वयन नगरिएको दुखेसो लिएर उनीहरु रवि भेट्न कारागार पुगेको बताएको छ ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाह र निर्घ नविनसहितको टोलिले भैरहवास्थित रुपन्देही जिल्ला कारागारमा भेट गरेको हो । भेटमा टोलीले किसानका समस्यामा सरकार अनुदार बनेको गुनासो सुनाएको बताइएको छ । निर्घ नविनले पहिला जस्तो तदारुकताका साथ काम नभएको र छलफल र गृहकार्यपछि भएको सम्झौता अहिले कार्यान्वयन नभएको बताएका छन । उनले एक हिसाबले सरकारले चिन्न छाडेको आरोप समेत लगाएका छन । संघर्ष समितिका संयोजक अवधेश कुशवाहले जिल्लाहरुमा प्रहरी र सिडिओहरु फेरिएसँगै मिटर व्याज पिडितमाथि नै मुद्दा चलाइएको र पक्राउ गरिएको बताए ।
जवाफमा रवि लामिछानेले नआत्तिन र एक भएर अघि बढ्न आग्रह गरेका छन् । पिडितहरुबीच राजनीति हुन नहुने भन्दै उनले न्यायको लडाइँ एकदिन अवश्य जितिने बताए । लामिछानेले धनी र गरिबको लडाई लामो चल्ने र जित न्यायको हुने बताउँदै धैर्य गर्न आग्रह गरेका छन । उनले सबै पिडितहरु एकभएर लड्न समेत आग्रह गरेको बताइएको छ । उनले आफुलाई देखाउँदै मलाई हेर्नुस् त मेरो स्वार्थ के छ ? जनताकै लागि लड्दा यो दुःख पाएको छु । न्याय पाउनुअघि दुःख हुने रहेछ । यसपछि न्याय हुन्छ । तपाइँहरुले पाएको दुःख न्याय पाउनु अघिको हो । नआत्तिनु ।’ भनेको बताइएको छ ।
केही समय पहिले गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको थियो । सहमतिपछि संघर्ष समितिले काठमाडौँको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए । मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिस बमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति पीडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने सहमति भएको थियो ।