काठमाडौँ । रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन आज पनि हेर्न नमिल्ने भएको छ । लामिछाने पत्नी निकिता पौडेलले वैशाख ७ गते सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनको पेशी आजका लागि तोकिएको थियो । सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा तोकिएको थियो । न्यायाधीश हुनुअघि सुनिलकुमार पोखरेलले रविकै तर्फबाट बहस गरेका कारण सो निवेदन हेर्न नमिल्ने भएको हो । रवि लामिछाने अहिले भैरहवास्थित कारागारमा छन् ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी रकम माग गरेको थियो । तर उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्लाको आदेशलाई उल्ट्याउँदै गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
उच्चको आदेशपछि चैत २२ गते उनलाई सोही रातीनै पक्राउ गरी एक रात प्रहरी परिसर काठमाडौँमा राखेर रुपन्देही पठाइएको थियो । दुई दिन रुपन्देहीमा हिरासतमा राखेपछि चैत २५ गते मात्रै अदालतमा पेस गरेर लामिछानेलाई कारागार चलान गरिएको थियो ।
लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ग्रैहकानुनी पक्राउ पुर्जी दिएको थियो । अदालतमा मुद्धा दायर भैसकेको लामिछानेलाई प्रहरीले फेरी अदालतका आदेश अनुसार अनुसन्धानका लागि भन्दै पुर्जी थमाएको थियो । साथै सोहि दिन राति अदालतका आदेश अनुसार भन्दै अनुसन्धानमा हिरासतमा राखिएको पुर्जी दिएको थियो । तर तेस्रो दिन मात्रै उच्च अदालतको आदेश अनुसार भन्दै थुनुवा पुर्जी दिएको थियो ।यता रवि बिरुद्ध सहकारीको बिषयमा जाहेरी नदिएको तर प्रहरी बाट जालझेल भएका बिषय बाहिर आइरहेका छन । सुप्रिम सहकारी कै बचतकर्ता रहेकी गीता आर्चायले आफ्नो नाम उजुरीकर्ताको सूचीमा आउँदा आश्चर्यचकित परेको बताएकी छिन ।
वैशाख १६ गते रविविरुद्ध पूरक जाहेरी दिएको भनिएका ७ जनामध्येका नारायण पहराईले यस्तो आरोप लगाएका थिए । उनको नाम ७ जनामध्ये पहिलो नम्बरमा थियो । आफूले बचत फिर्ताका लागि निवेदन दिएको तर रवि विरुद्ध कुनै उजुरी नगरेको उनको भनाइ छ । त्यसको ११ दिनपछि वैशाख २७ गते जाहेरीको १६ औँ नम्बरमा नाम रहेकी गीता आचार्यले उस्तै दाबी गरेकी हुन् । उनले पनि बचत फिर्ताका लागि हालेको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको बताएकी छन् । एकपछि अर्को उजुरीकर्ताले यस्तो लगाउँदा रुपन्देहीमा प्रहरीले गरेको सहकारी ठगीको अनुसन्धानमै गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।