Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रेशम चौधरी छुटे

रेशम चौधरी छुटे

काठमाडौँ । नाउपका संरक्षक रेशम चौधरी छुटेका छन । उनलाई आज अदालतको आदेश भन्दै पक्राउ गरिएको थियो । रेशम लाई पक्राउ गरेर आजै उनलाई डिल्ली बजार कारागार समेत पुर्याइएको थियो । उनलाई पक्राउ गर्न पठाएको पत्रैमा कैफियत भेटिएपछि पत्र लेख्ने व्यक्तिलाई अहिले पक्राउ गरिएको छ । रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । सोही आधारमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यता सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको बताएको छ ।

आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताएका छन । आज मात्रै नाउपा र जनमत पार्टी बिचको एकताको तयारी रहेको थियो तर रेशमलाई भने एकता हुनु अघि नै पक्राउ गरेपछि कार्यक्रम समेत बिथोलिन पुगेको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिममाथि अन्याय र दमन भइरहेको बताएका छन । उनले कार्यक्रमको मुखमै आएर पक्राउ गर्नु अलोकतान्त्रिक भएको बताएका हुन । उनले सरकारको यस्तो व्यवहारलाई परास्त गर्न पनि पार्टी एकता गरेरै छोड्ने बताएका छन । २०७२ साल भदौं ७ गते कैलालीको टिकापुरमा भएको थरुहट आन्दोलनमा आठ सुरक्षाकर्मी र एकजना शिशुको ज्यान गएको घटनामा चौधरी लगायतमाथि ज्यान मुद्दा चलेको थियो ।

रेशम चौधरीलाई जन्मकैद हुने भनी जिल्ला र उच्च अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतले २ जेठ २०८० मा सदर गरेको थियो । फैसलाको पूर्णपाठ तयार नहुदै सरकारले दुई सातापछि नै माफी मुल्तबीको प्रक्रिया अघि बढाएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका दिवसका अवसरमा १५ जेठ, २०८० मा माफीमिनाहाको निर्णय गरेपछि चौधरी कैदमुक्त भएका थिए । राष्ट्रपतिले गरेको निर्णय अदालतबाट नउल्टिँदासम्म चौधरी कैदमुक्त हुने निर्णयले वैधता पाउँछ, उनी कारागारमा जानुपर्दैन ।

जघन्य हत्याका घटनामा आममाफी र माफीमिनाहा नहुने भनी सर्वोच्च अदालतले विभिन्न मुद्दामा नजीर प्रतिपादन गरेको छ । आफ्ना पति लगायतका व्यक्तिको हत्याराले आममाफी पाउन नहुने भनी शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । उनले रेशम चौधरी विरुद्ध दायर गरेका दुई रिट निवेदन सर्वोच्च अदालतमा विचाराधिन छन् ।