काठमाडौँ । राजावादीको आन्दोलनका क्रममा पक्राउ परेका रविन्द्र मिश्र माथि हिज प्रहरीले गरेका व्यवहारको चौतर्फी आलोचना भएको छ । हिज म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने क्रममा उनलाई दुवै हातमा हत्कडी लगाइएको थियो । प्रहरीले थुनुवाको पोशाकमा गाडीबाट ओर्लेर हत्कडी सहित अदालत लैजाँदै गर्दा प्रहरीले उनलाई धकेलेको भिडिओ सार्वजनिक भएको हो । मिश्रले हत्कडीसहितको हात उठाएर अदालततर्फ ‘नमस्कार’ गर्न खोजेका थिए तर, प्रहरीले उनको हातमै समातेर रोकेका हुन । प्रहरीको यो शैलीको अहिले आलोचना भइरहेको छ । यसअघि पनि मिश्रलाई अदालत ल्याउँदा हत्कडी लगाउने गरिएको थियो ।
तर, गाडीबाट ओराल्ने बेलामा हत्कडी खोल्ने गरिन्थ्यो । तर, आज भने गाडीबाट ओर्लिँदा पनि हत्कडी फुकालिएको थिएन । तर, मिश्रले हतकडी लगाइएका आफ्ना हात उठाएर सञ्चारकर्मीलाई देखाउन भ्याएका थिए । प्रहरीको उक्त व्यवहारले उनको हिरासतको बसाइँ कस्तो होला भन्ने आशंका उब्जिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले भने म्याद थपका लागि लगिएको बेला हतकडी लगाएर अदातलको परिसरसम्म कसरी लैजाने भन्ने अधिकार खटिएकै प्रहरी कर्मचारीको हुने बताएका छन । हिरासतमा भने मिश्रलाई कुनै अप्ठेरो नभएको उनी निकट स्रोतले बताएको छ ।
भद्रकालीस्थित प्रहरीको नयाँ भवनको दोस्रो तलाको एउटा कोठामा मिश्र एक्कै बस्छन् । परिसर प्रहरी स्रोतका अनुसार उनी राति अबेरसम्म लेखपढ र दिउँसो पनि भेटघाट बाहेकको समयमा लेखपढ मै व्यस्त हुन्छन् । (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ठिक एक महिनादेखि थुनामा छन् । चैत १५ गते राजावादीहरुले गरेको तीनकुनेको प्रदर्शन अराजक बनाउन भूमिका खेलेको आरोप उनीमाथि छ । त्यही राति काठमाडौंबाट पक्राउ परेका रवीन्द्र मिश्रमाथि अनुसन्धानका लागि आइतबार थप एक साताको म्याद थप भएको छ । उनीमाथि प्रहरीले राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान जारी राखेको छ । प्रहरीले उनलाई थुनामा नै राखेर अनुसन्धान गर्न चार पटक अदालतबाट म्याद लिइसकेको छ । गत चैत १५ गते भएको राजावादीको आन्दोलनमा हालसम्म प्रहरीले ८५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रदर्शनका कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईंसमेत छन् ।
प्रहरीले प्रसाईं, सन्तोष सिलवाल र केहीलाई भने कर्तव्य ज्यान मुद्दासमेत लगाएको छ । त्यो बाहेक प्रहरीले ज्यानमार्ने उद्योग, अपराधिक उपद्रव, आगजनीलगायतको कसुरमा अनुसन्धान गरिरहेको छ । आपराधिक उपद्रव कसुरमा २१ जनालाई भने प्रहरीले थुना बाहिर राखेर अनुसन्धान गरिरहेको छ ।