काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी प्रकरणमा मुछिएर फरार सुचीमा काग्रेसकी सांसद माया राई ८ महिना पछि संसद पुगेर हाजिर गरेर फर्किएको खुल्न आएको छ । अदालतले पक्राउ गर्न आदेश दिएपछि फरार रहेकी उनी शुक्रवार संसद भवन पुगेर हाजिर गरेर फर्किएको बताइएको छ । प्रहरीले खोजेको खोज्यै तर उनी संसद भवन भित्रका सम्पुर्ण सुरक्षा व्यवस्था लाई चक्मा दिदै प्रवेश गरेकी हुन । संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन महाशाखाका उपसचिव प्रदीपकुमार नेपालका अनुसार बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा सदस्य राईले संसद्मै पुगेर हाजिर गरेकी छिन् ।
पक्राउ पुर्जी जारी गरेको प्रहरीले भने उनलाई संसद् भवनपरिसरमा भेट्टाएन । उनलाई गृहप्रशासन र गृहमन्त्री कै आदेशमा जोगाइएको छ । राईलाई संसद्मा उपस्थित गराइएको संसद्का पदाधिकारी बताउँछन् । उनले संसद्को तलब–भत्ता पनि नियमित बुझेकी छिन् । सांसद राईले ११ लाख तलबभत्तासहितको सुविधा बुझेको खुलेको हो । उनी बिरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको दुई अर्ब ६५ करोड हिनामिनामा पक्राउ पुर्जी जारी भएपछि फरार थिइन् । उनी भदौ यता सदन र समितिमा अनुपस्थित रहँदै आएकी थिइन् ।
सांसद राईलाई प्रहरीले गत कात्तिकमा नै पक्राउ गर्न अदालतबाट अनुमति पाएको थियो । त्यसवेला ठेगाना खुल्न नसकेको भन्दै उनलाई मुद्दाबाट उन्मुक्ति दिइएको थियो । तर, दोस्रो चरणको अनुसन्धानमा प्रहरीले उनको ठेगाना मात्र होइन, सहकारीको हिनामिनासम्बन्धी निर्णयमै संलग्नता खुल्ने प्रमाण फेला पर्दा पनि पक्राउ गरेको छैन ।
सहकारी ठगीमा संलग्नता पुष्टि हुँदा पनि सत्तारूढ दल कांग्रेसकी सांसद भएकाले उनलाई पक्राउ गर्न गृह मन्त्रालयले स्वीकृति नदिएको प्रहरी स्रोत बताएको छ । पद जोगाउनकै लागि गृह मन्त्रालयसमेतको मिलेमतोमा फरार रहेकै अवस्थामा उनलाई सुटुक्क संसद्मा हाजिर गर्ने वातावरण मिलाइएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले पहिलो चरणमा अनुसन्धान गरी गत २१ पुसमा ३९ जनाविरुद्ध मुद्दा दायर गरी थप व्यक्तिमाथि दोस्रो चरणमा अनुसन्धान गर्ने बताएको थियो । तर, त्यसमा फरार सांसद संसद्मा हाजिर गर्न जाँदा पनि प्रहरीले चासो नदिनुले प्रहरी अनुसन्धान सत्ताको छायामा परेको प्रस्ट भएको छ । काठमाडौं परिसरका एसएसपी विश्व अधिकारी सांसद राईले संसद्मा हाजिर गरेको विषयमा जानकारी नभएको बताएका छन ।
यहीँ सहकारी प्रकरणमा रवि लामिछाने पनि मुछिएका छन । गितेन्द्रबाबु (जिबी) राईले सञ्चालन गरेको सो सहकारीमा सर्वसाधारणको दुई अर्ब ६५ करोड हिनामिना भएको प्रहरी अनुसन्धानमा खुलेको छ । सर्वसाधारणको जाहेरीका आधारमा एक अर्ब १९ करोड रुपैयाँबराबरको बिगो कायम गरी मुद्दा दायर भएको थियो ।