काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पार्टीका नेताहरूका नाममा खुलेका प्रतिष्ठानमा लाखौँ बजेट रोकिदिएपछि महानगरका काग्रेस र एमालेका वडा अध्यक्षहरु बालेन सँग आक्रोशित बनेका छन । वडाध्यक्षहरूले प्रस्ताव र सिफारिस गरेका नेताहरूका नाममा खुलेका प्रतिष्ठानहरूलाई लाखौँ बजेट स्विकृत गर्न मेयर बालेनले अस्वीकार गरेपछि बालेनमाथि वडाध्यक्षहरू असन्तुष्ट देखिएका हुन । महानगरको विवाद बाहिर शान्त देखिएपनि भित्राभित्रै भने अलग्गै चलखेल भइरहेको देखिन्छ ।
गत नगरसभाको नजिर र फागुनमा सामाजिक समितिको निर्णयमा बालेनको गरेको अस्वीकारले वडाध्यक्षहरू खुलेरै बालेनको विरोधमा लागेको भेटिएको हो । नेताका नाममा प्रतिष्ठानहरू खुल्ने र त्यसमा नेटवर्क प्रयोग गरेर लाखौँ, करोडौँको सरकारी बजेट हालिने यथार्थ कसैबाट पनि लुकेको छैन । तर लगभग सबै पार्टीका नेताहरूका नाममा प्रतिष्ठान खुल्ने, बजेट पनि भागबण्डा अनुसार सबैलाई लाग्ने भए पनि यसका विरूद्धमा कोही पनि लाग्ने सम्भावना नै थिएन तर बालेनले भने रोकिदिएका छन । जननायक बी.पी. कोइराला स्मृति ट्रष्ट रु ५० लाख । मदन भण्डारी फाउण्डेशन काठमाडौं जिल्ला कार्य समिति, रु ४५ लाख । गणेशमान सिंह फाउण्डेशन, रु ४५ लाख । मनमोहन मेमोरियल क्रिकेट सेन्टर रु २५ लाख । किशुनजी अध्ययन केन्द्र, रु ४५ लाख । मंगला देवी सिंह फाउण्डेशन, रु ४५ लाख । मनमोहन स्मृति प्रतिष्ठान, रु २० लाख । पद्मरत्न लुमन्ति गुठी, रु २० लाख । तारा देवी स्मृति फाउण्डेशन रु ५ लाख । साधना स्मृति समाज रु ५ लाख । मोतीदेवी स्मृति केन्द्र, रु ५ लाख रहेको छ ।
काठमाडौँ महानगरपालिकामा बजेट माग गर्दै महानगरकै वडाध्यक्ष लगायतको समूहले सिफारिस गरेका थिए । चलाखी के गरिएको थियो भने समाजमा अन्य योगदानबाट प्रसिद्धि कमाएका तारादेवी जस्ता केहि नामहरू पनि सूचिमा राखेर आफ्ना नेताहरुको नाममा खुलेका फाउन्डेसनहरूका लागि बजेट गरिएको थियो ।
जब यो बजेट मागको सिफारिस मेयर बालेन शाहको टेबलमा पुग्यो, उनले यसलाई ठाडै अस्विकृत गरिदिएका थिए । सँधै आइरहेको बजेट रोकिए पछि, आफुले जिम्मा लिएर अगाडि बढाएको फाइल अनुसार काम नभए पछि कांग्रेस एमालेका वडाध्यक्षहरुले तत्कालका लागि नगरसभा असफल बनाउने र दीर्घकालमा बालेनलाई असफल बनाउने रणनीति बनाएको देखिन्छ । आफ्ना नेताका नाममा खुलेका प्रतिष्ठानका लागि बजेट हालिदिने माग तत्कालका लागि बन्द भए पनि पुनः सो माग उठाइरहेका छन् ।
