काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाई बिचको टकराव अझै सकिएको छैन । काठमाडौँ टावरको बिषयलाई लिएर उत्पन्न बिवाद अहिले पनि जारी देखिएको छ । चैत २१ गतेबाट कार्यालयमा हाजिर भएदेखि मेयर शाह सँग अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको भेट नभएको बुझिएको छ ।
महानगरपालिकाका प्रशासनिक कामहरू अघि बढे पनि प्रमुख प्रशासकीय अधिकृत र मेयरबीच भेट नभएको स्रोतले बताएको छ । प्रमुख प्रशासकीय अधिकृत रहेका सरोज गुरागाई विभागीय प्रमुखसँग बैठक बस्ने गरेका छन । कामको सिलसिलामा बालेन सँग फाइल पुगेपछि बालेनले तोक लगाउने गरेका छन तर औपचारिक रूपमा भेट नभएको पाइएको हो । मेयर बालेनको निर्देशनमा खटिएका नगरप्रहरीको घेरा तोड्दै गुरागाईं गत चैत २१ गते कार्यालयमा हाजिर भएका थिए । महानगरप्रहरीको अवरोधका बीच जनप्रतिनिधि र कर्मचारीको सहयोगमा कार्यालय प्रवेश गरेका थिए । त्यसपछि मेयर बालेनसहित करिब पाँच हजार कर्मचारीको तलब निकासा भएको थियो ।
गुरागाईं हाजिर भएको सात दिनपछि मात्रै मेयर बालेन बिहीबार कार्यालय पुगेका थिए । बालेन कार्यालय छिर्दा गुरागाईं कार्यालयबाट बाहिरिएका थिए । गुरागाईँ तीन महिना १४ दिनपछि कार्यालय फर्केका थिए । उनी महानगरका कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गरेका थिए । गुरागाईं ०८१ पुस १४ गते निलम्बनमा परेका थिए । काठमाडौं टावर १२ तलाको बनाउने भनिएको थियो । तर, त्यसलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको थियो । काठमाडौं टावरको प्रक्रिया पूरा नगरी नक्सापास गरेको आरोपमा बालेनले गुरागाईंलाई छानबिनमा तानेका थिए । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई दोषी देखाउने आधार नभएको भन्दै महानगरमै काम गर्न पठाएको थियो । यतिबेला काठमाडौँ टावरको बिषयलाई लिएर बालेन शाह र केन्द्र सरकार बिचमा जुहारी चलिरहेको छ ।
अझ भनौँ केन्द्र सरकार सँग फाटो ल्याइदिएको छ । बालेनले टावरमा संघीय सरकारमै रहेकाहरुको संलग्नतामा आर्थिक चलखेल भएको आरोप लगाउँदै गल्ती गरेका प्रमुख प्रशासकीय अधिकृतलाई पक्षपोषण गर्दै सरकारले निहुँ खोजिरहेको बताएका छन । मेयर साहले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै टावरको निर्माणमा भ्रष्टाचार भएको बताएका थिए। उनले टावरको निर्माणमा भ्रष्टाचार भएको गलत भए आफूलाई जेल हाल्न समेत चुनौती दिएका थिए ।