काठमाडौँ । सहकारी प्रकरण मुछिएका रवि लामिछाने भैरहवा कारागार चलान भएको २ हप्ता पुग्न आँटेको छ । कारागार भित्र पनि रवि लामिछाने आत्मविश्वासी देखिने गरेका छन । नेपाल सरकारका पुर्व गृहमन्त्री समेत रहेका लामिछाने बुटलको सुप्रिम सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनी थुनामा पुगेका हुन । उनी भैरहवा कारागारको ब्लक नं ४ मा रहेका छन ।
लामिछाने ९१ बर्षअघि बनाइएको कारागार (जेल)मा बसिरहेका छन । बि.सं १९९० सालमा निमार्ण गरिएको यो कारागार ९१ बर्ष पुरानो रहेको हो । चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवलको आदेशसँगै पक्राउ परेका लामिछानेलाई जिल्ला कारागार रुपन्देहीमा २५ गते लगिएको थियो । न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसुर र सङ्गठित अपराध सम्बन्धी मुद्दामा जिल्ला अदालतको आदेश उल्टाउँदै रविलाई थुनामा पठाउने आदेश दिएको थियो ।
रवि लामिछाने कारागारमा भित्र पनि आत्मबिश्वासिलो र निकै फुर्तिलो देखिने गरेका छन । उनी बिहान सबेरै उठेर मनतातो पानी पिउने र सामान्य कसरत गर्ने गरेका छन । स्रोतका अनुसार कारागारभित्र लामिछानेले अध्ययनमा धेरै समय बिताउने गरेका छन् । ऐतिहासिक पुस्तकहरूमा उनको रुचि रहेको बताइएको छ । नेपाली र अङ्ग्रेजी भाषाका पुस्तक उनको रोजाइमा परेका छन् । लामिछानेले कारागारभित्रै पकाइएको खाना खाने गरेका छन् । त्यसमा सामान्यतया दाल, भात, तरकारी नै रहने स्रोतको भनाइ छ । उनले बाहिर बाट खानेकुरा मगाउने गरेका छैनन । उनको जोश र जागर बिगतकै जस्तो फुर्तिलो रहेको छ । रविले कारागारमा प्रायजसो अध्ययन गरेर बिताउने गरेका छन,सम्भवत उनी जेल भित्रैबाट जेल डायरी लेख्ने तयारीमा रहेका छन । जिल्ला कारागार प्रशासनले कोभिडको बेला निर्माण भएको एउटा सानो तथा छुट्टै कोठामा लामिछानेलाई राखेको छ । कोभिडको बेलामा त्यो कोठा निर्माण भए पनि प्रयोगमा आएको थिएन । अन्य कैदीसँग राख्दा लामिछाने असुरक्षित हुने भएकाले खाली कोठालाई प्रयोग गरिएको कारागार प्रशासनको भनाइ छ ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई कारागारमा भेटघाट गर्न खासै कोही आउँदैनन् । सामान्यतः दैनिक दुई÷चार जनाबाहेक उनलाई भेट्न कोही आउने नगरेको कारागार प्रशासन स्रोतले जनाएको छ । कारागार प्रशासनले भित्र रेडियो सुन्न र फोन गर्ने व्यवस्था बन्दीहरूलाई मिलाएको छ । कहिलेकाहीँ रवि लामिछानेले पनि फोनको प्रयोग गर्ने कारागार स्रोतको भनाइ छ ।