काठमाडौँ । नेपाल सरकारका भौतिक पुर्वधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल दाउन्ने सडक खण्डमा ४ घन्टासम्म जाममा फसेका छन । दाहाल बिहीबार साँझ करिब ४ घण्टा भन्दा बढी दाउन्ने सडक खण्डको जाममा फसेको बताइएको छ । बुटवल नारायणगढ सडक खण्डको स्थलगत निरीक्षणका लागि आएका उनी ४ घण्टा बढी जाममा फसेका हुन् । पछिल्लो समयमा यो सडक खण्डमा यात्रुहरु घन्टौँ सम्म जाममा फस्ने गरेका छन । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे यो सडकमा निकै जोखिम मोलेर यात्रा गर्नुपर्ने अबस्था रहेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार यातायात मन्त्री देवेन्द्र दाहाल ३,४ घण्टा जाममा परेको जानकारी दिएका छन । एसपी ढकालका अनुसार पानी पर्नासाथ दैनिक १ सय भन्दा बढी सुरक्षाकर्मी दाउन्नेमा परिचालन गर्नु पर्ने अवस्था छ । सडक विस्तारका क्रममा रहेको उक्त सडक खण्डको निरीक्षण क्रममा दाहाल सहित टोलीले दाउन्ने क्षेत्रमा जारी निर्माण कार्यबारे समेत जानकारी लिएका छन् । निरीक्षणपछि सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीसँग छलफलमा बसी सडक विस्तार भन्दा पनि सडक मर्मत गरी तुरुन्त सवारी पास हुने गरी दाउन्ने सडक खण्ड निर्माण गर्न निर्देशन दिएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–नारायणगढ खण्डमा पर्ने दाउन्ने क्षेत्रको जटिल भूधरातलका कारण सवारीसाधन केही समय बन्द गराएर विस्तारको काम भइरहेको छ । जसअन्तरगत बैशाख १ गतेबाट बैशाख १५ गतेसम्मका लागि राति ११ बजेदेखि विहान ५ बजेसम्म दैनिक ६ घण्टा सडकमा यातायात आवागमन बन्द गरेर सडक विस्तारको काम गरिएको छ । मन्त्री दाहालले झरी पर्न सुरु हुन लागेकाले त्यसतर्फ ध्यान दिँदै वर्षायाम अघि नै निर्माण कार्य सकेर सवारी आवागमन सहज बनाउन निर्देशन दिएका हुन् ।
अहिले दाउन्ने सडक हिलाम्य हुँदा यातायात अवरुद्ध भएको छ । वर्षाका कारण सडक चिप्लो हुँदा यातायात आवागमनमा अवरुद्ध भएको छ । दाउन्नेमा हिजोदेखि सडकमा जाम हुँदा सवारी आवागमनमा अवरुद्ध भएको हो ।