काठमाडौँ । सिराहामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका बेला एमालेकै नेता तथा कार्यकर्ता उठेर हिडेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । नेकपा एमालेका अध्यक्ष समेत ओली मंगलबार हिज सिराहा जिल्लाको सदरमुकाममा सम्पन्न एमालेको एघारौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा पुगेका थिए । उनी उक्त कार्यक्रममा हेलिकप्टर लिएर पुगेका थिए ।
ओली बोल्दै गर्दा कार्यकर्ताहरु उठेर हिडेपछि एमालेका केही नेताहरुले बुढाबुढी भएकाले हिडेको बताएका छन तर उक्त कार्यक्रममा युवाहरु समेत ओलीको भाषण सुन्न नचाहेको बताउँदै हिडेको बताइएको छ । सार्वजनिक भएको भिडियोमा समेत कार्यकर्ताहरु उठेर हिडेको देख्न सकिन्छ । प्रधानमन्त्री ओलीले एमालेलाई कसैले हल्लाउन नसक्ने दाबी गर्दै सम्बोधन गरिरहेका थिए ।
उनलेदेश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएकाले देश जोगाउने पार्टी एमाले भएकाले आम कार्यकर्ता र शुभेच्कुले एमाले विरोधी भुलभुलैयामा नलाग्न आग्रह समेत गरेका थिए यहीँ कुरा बोलिरहेका बेला नेता तथा कार्यकर्ताहरु उठेर हिडेका हुन । यस्तै प्रधानमन्त्री के पी शर्मा ओलीले ६ वर्षअघि गरेको प्रतिबद्धता पूरा नभएपछि सिराहामाको कमला पुलमा कालोझन्डा राखेर प्रर्दशन गरिएको छ । ओलीको ध्यानाकर्षण गराउन पूर्व–पश्चिम हुलाकी सडकखण्डको कमला पुलमा केही युवाहरुले कालोझन्डा प्रदर्शन गरेका छन् । अलपत्र अवस्थामा रहेको उक्त पुल छिटो पुनर्निर्माण गर्न माग गर्दै उनीहरूले कालोझन्डा प्रदर्शन गरेका हुन् । उनीहरूले प्रधानमन्त्री ओलीले ६ वर्षअघि गरेको प्रतिबद्धता स्मरण गराउँदै पुनर्निर्माण छिटो सिध्याउन कालोझन्डा प्रदर्शन गरेका हुन् । हेलिकप्टर चढेर पुगेका ओलीले भने उक्त झन्डा देख्न पाएनन । सिराहाको चन्द्र (प्राविधिक) माविमा १९ माघ ०७५ मा आयोजित सहिद हेमनारायण यादवको स्मृतिलाई सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले २ वैशाख ०७७ भित्र नै पुल निर्माण सम्पन्न हुने दाबी गरेका थिए ।
करिब ६ वर्ष बित्नै लाग्दासमेत कमलाको पुल पुनर्निर्माण सम्पन्न भएको छैन । पुल निर्माण सुस्त हुँदा धनुषा र सिराहासहित हुलाकी सडक हुँदै ओहोरदोहोर गर्नेहरू हिउँदमा बाँसको अस्थायी पुल र बर्खामा डुंगामा वारपार गर्न बाध्य बनेका छन । यस्तै सिराहा जिल्लामा केपी शर्मा ओलीको कार्यक्रममा सहभागी गराउन नेता तथा कार्यकर्तालाई इन्धन बाँडेको खुलेको छ । एमाले अध्यक्ष समेत रहेका के पी ओलीकोे कार्यक्रममा सहभागी हुनु भन्दै इन्धन बाँडिएको बताइएको खुलासा भएको हो । त्यति मात्र नभई उक्त कार्यक्रममा बालबालिकको समेत प्रयोग गरिएको थियो भने ओली आउँने भएपछि क्याम्पस नै बन्द गरिएको थियो ।