Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जीबि राई मलेसिया र भानुआतु भन्ने देश आउजाउ गरिरहेको आशंका !

जीबि राई मलेसिया र भानुआतु भन्ने देश आउजाउ गरिरहेको आशंका !

काठमाडौँ । सहकारी प्रकरणमा मुछिएर १ बर्ष भन्दा बढी फरार रहेका तत्कालीन गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई मलेसिया र भानुआतु भन्ने देश आउजाउ गरिरहेको खुल्न आएको छ । करोडौँ रकम कुम्लाएर १ बर्ष देखि फरार रहेका जीबि राईलाई प्रहरीले अहिले सम्म पनि समात्न सकेको छैन । गोरखा मिडिया नेटवर्क सञ्चालमा उनकै साझेदार रहेका रवि भने पटक पटक प्रहरीको हिरासतमा पुग्दा जीबिको भने अत्तोपत्तो रहेको छैन । केही समय देखि जीबि राई मलेसिया लुकेर बसेको भनिएपनि राई यतिबेला मलेसिया र भानुआतु भन्ने देश आउजाउ गरिरहेको प्रहरीले आशंका गरेको हो ।

प्रशान्त महासागरीय सुन्दर टापु भानुआतुमा एक लाख ५५ हजार डलर तिरेपछि र केही कानुनी प्रक्रिया पूरा गरेपछि राहदानी प्राप्त हुन्छ । प्रहरी स्रोतका अनुसार ‘कास्की जिल्ला अदालतले राहदानी रद्द गर्न नेपाल सरकारलाई आदेश दिएपछि उनले भानुआतुको राहदानी लिएको आशंका गरिएको छ,’त्यहाँ गैरआवासीय नेपाली संघका साथै नेपालीका अन्य संघसंस्था पनि छन् । पछिल्लो पटक प्रहरीले जिबी राई मलेसिया रहेको जनाएको थियो। लामिछाने गृहमन्त्री भएका बेला पनि राईलाई नेपाल ल्याउने प्रयासस्वरूप मलेसिया सरकारसँग समन्वय गरिएको थियो। हालका गृहमन्त्री रमेश लेखकले पनि प्रहरी पठाएर त्यहाँको प्रहरीसँग समन्वयको प्रयास गरेका थिए। साथै नेपालको कारागारमा रहेकी एक मलेसियाली नागरिकलाई विधि–प्रक्रिया पु¥याएर छुटाइएको थियो। तर पनि सरकारले राईलाई ल्याउन सकेको छैन। तर अहिले राई कहाँ छन् भन्ने प्रहरी प्रधान कार्यालय नै अन्योलमा छ ।

भानुआतु दक्षिण प्रशान्त महासागरमा अवस्थित सानो टापु राष्ट्र हो। भानुआतुमा नागरिकता प्राप्त गर्न न्यूनतम एक लाख ५५ हजार डलर तिर्नुपर्छ। भानुआतुमा लगानीको बदलामा त्यो देशको नागरिकता ३०–६० दिनमा प्राप्त गर्न सकिन्छ। मिडिया रिपोर्टहरूका अनुसार नागरिकताको बदलामा प्राप्त हुने राजस्व भानुआतुको कुल राजस्वको ३० प्रतिशत हो। विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट भएका देशहरूमा भारत ८०औं स्थानमा छ भने सानो देश भानुआतु यस सूचीको ५१औं स्थानमा छ। यो स्थान साउदी अरेबिया र चीनभन्दा अगाडि हो। भानुआतुको राहदानीले विश्वभरका एक सय १३ देशमा भिसामुक्त प्रवेश अनुमति दिन्छ। यसकारण राई उता पुगेको आशंका प्रहरीले गरेको हो। राई तत्कालीन गोरखा मिडिया नेटवर्कका अध्यक्ष हुन्। उनीमाथि पाँचवटा सहकारी ठगीको आरोप छ।

काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा चितवन, रूपन्देहीको सुप्रिम, वीरगन्जको सानो पाइला र कास्कीको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता थियो। उनीविरूद्ध कास्की र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ। राईका व्यावसायिक साझेदार रवि लामिछाने भने तीन वटा अदालतबाट धरौटीमा रिहा भए पनि बुटवल उच्च अदालतबाट थुनामा गएका छन्।