Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा सभापति रवि लामिछाने आज जेल चलान हुने

रास्वपा सभापति रवि लामिछाने आज जेल चलान हुने

काठमाडौँ । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने आज जेल चलान हुने भएका छन्। शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा राख्न आदेश गरेपछि प्रहरीले शुक्रबार राति नै पक्राउ गरेको थियो । रवि लाई शनिबार बिहान त्रिभुवन विमानस्थलबाट भैरहवा लगेपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। रुपन्देहीका एसपी रंजितसिंह राठौरले आज जिल्ला अदालतमा पेश गरेपछि कारागार पठाइने जानकारी दिए। शनिबार र आइतबार बिदा परेकाले उनलाई आज अदालतमा पेश गर्न लागिएको हो।सरकारले पछिल्लो समयमा सहकारीको रकम अपचलनको अनुसन्धान गर्ने, मुद्दा दायर गर्ने र कारबाहीको प्रक्रियालाई तीब्ररुपमा अगाडि बढाएको छ।

गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरण सभापति लामिछाने समेतलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो । सहकारीको रकम अपचलन गरेको कसुरमा कुल ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । ती ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा कुल १ अर्ब ४३ करोड ८६ लाख २ हजार १ सय ३५ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

त्यसपछि माघ १३ गते जिल्ला अदालत रूपन्देहीमा थुनछेक बहस सकिएपछि गोर्खा मिडियाका तत्कालीन पूर्वप्रबन्ध निर्देशक रहेका लामिछानेलाई न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । जिल्ला अदालत रूपन्देहीले धरौटीमा रिहा गर्ने आदेश गरेपछि प्रतिवादी लामिछानेलाई धरौटी नभएर थुनामा राख्नुपर्ने माग गर्दै सरकारी वकिल कार्यालय फागुन २२ गते उच्च अदालतमा पुगेको थियो । फागुन २६ गते लामिछाने पनि जिल्ला अदालतको एक करोड धरौटीको आदेशको खारेजीको माग गर्दै उच्चमा निवेदन दिएका थिए ।