Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा सभापति रवि लामिछाने राति पक्राउ गरेपछि संविधानविद्को नै असन्तुष्टि,शंकर बने खुसी

रास्वपा सभापति रवि लामिछाने राति पक्राउ गरेपछि संविधानविद्को नै असन्तुष्टि,शंकर बने खुसी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राति नै पक्राउ गरिएकाप्रति संविधानविद् डा. भीमार्जुन आचार्यले असन्तुष्टि जनाएका छन् । रातारात गरेर पक्राउ गर्नु बेठीक भएको तर्क संविधानविद् आचार्यले गरेका हुन् ।

‘अदालतको आदेशको पालना र कार्यान्यन हुनुपर्नेमा त कुनै द्विविधा छैन’, आचार्यले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘तर, लोक कल्याणकारी राज्यले आफ्नो नागरिकलाई पक्रन रातिकै समय किन रोज्छ? के टेक्स्ट र एक्सनमा हाम्रो संगति कहिल्यै नहुने हो?’ भन्दै लेखेका छन ।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा १ करोड धरौटीमा छाड्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार थुनामै पठाउन आदेश दिएपछि पूर्वगृहमन्त्री लामिछानेलाई प्रहरीले शुक्रवार राति नै पक्राउ गरेको थियो । रातभर काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएका रविलाई आज रुपन्देही लगिएको छ । यस्तै यता एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने गृहमन्त्री हुँदाको अवस्था के थियो भन्दै टिप्पणी गरेका छन्। गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रहेको समयमा लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले थुनामा पठाउने आदेश आएपछि पक्राउको विषयलाई लिए प्रहरीमाथि रास्वपाका नेताहरूले विरोध गरेपछि उनले यस्तो बताएका हुन्।

उनले लामिछाने गृहमन्त्री हुँदा ‘रिति र थिति’ कस्तो थियो स्मरण गर्न रास्वपाका नेताहरुलाई आग्रह गरेका छन्। उनले सुधारको खोजी यस्तै बेलामा हुने तर्क समेत गरेका छन्। पोखरेलले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्,‘प्रहरीको पूर्जी काट्ने ’रीति र थिति’ रवि जी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने हेक्का रास्वपाका नेताहरुलाई ’थाहा’ नहुने कुरै भएन । तर पनि सुधारको खोजी यस्तै बेलामा हुने त हो नि !?’भन्दै लेखेका छन । रवि लाई यसअघि गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका थिए। तर सोही प्रकरणका अर्का अभियुक्त छविलाल जोशीलाई भने थुनामा पठाउन आदेश दिएको थियो।

यसपछि सरकारी वकिल कार्यालयले रविलाई पनि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दिएको थियो। यसमा सुनुवाइ गर्दै उच्च अदालतले शुक्रबार रविलाई थुनामा पठाउन आदेश दिएको हो। अदालतको आदेशलगत्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।