काठमाडौँ । काठमाडौँ महानगरपालिका नगर प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रशासकिय अधिकृत सरोज गुरागाई सँग माफी मागेका छन । प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगेर सलाम ठोक्दै महानगर प्रहरी प्रमुख राजु पाण्डेले मागे माफी मागेको बताइएको छ । हिज मात्रै सरोज गुरागाई लाई महानगर प्रवेशमा रोक्नका लागि नगर प्रहरी पुगेको थियो तर गुरागाईँलाई रोक्न भने असफल बनेको थियो ।
गुरागाईलाई कार्यालय प्रवेशमा रोक्न पाण्डेले बल प्रयोग गरेका थिए । उसो त राजुको उपमेयर सँग पनि केही समय भनाभन चलेको थियो । महानगर पालिकाका कर्मचारीहरुका अनुसार राजु पाण्डेले प्रशासकीय प्रमुखलाई सलाम ठोकेरै अघिल्लो दिनको व्यवहार र आफ्नो बाध्यता सुनाउँदै माफी मागेको र मेयरको मौखिक आदेशले यसअघि पनि अप्ठेरोमा परेको भन्दै माफी मागेको बताइएको छ । उपमेयर सुनिता डंगोलले पाण्डेसँग मेयरको लिखित आदेश मागेपछि उनी रक्षात्मक भइसकेका थिए । महानगर प्रहरी बलको प्रमुख मेयर र उपमेयरप्रति उत्तिकै जवाफदेही हुनुपर्ने डंगोलको भनाइ थियो ।
त्यसो त प्रशासकीय अधिकृतको मातहमा चल्नुपर्ने पाण्डे मेयरको मात्र मौखिक आदेशमा चल्ने गरेको भन्दै जनप्रतिनिधिले उनीमाथि प्रशासनिक कारवाहीको चेतावनी समेत दिएका छन् । हिज मात्रै काठमाडौं महानगरपालिकाका कर्मचारीहरूले प्रशासनिक अव्यवस्था र सेवा प्रवाहमा अवरोध गरेको भन्दै नगरप्रमुख बालेन शाह र नगर प्रहरीलाई मुलुकी अपराध संहिता २०७४ का दुई दफाहरूको स्मरण गराएका थिए । स्थानीय तह कर्मचारी युनियन र स्थानीय तह कर्मचारी संघले संयुक्त विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई सहज काम गर्ने वातावरण बनाउन अनुरोध गरेका हुन् ।
मुलुकी अपराध संहिता २०७४ को दफा ६६ मा सार्वजनिक पद धारण गर्ने व्यक्तिले कर्तव्य पूरा नगरी वा जानाजान सेवा प्रवाहमा बाधा पु¥याएमा कानुनी कारबाही हुने व्यवस्था छ।
यस्तै दफा ८६ मा राष्ट्रसेवकले आफ्नो पदीय कर्तव्य पूरा गर्दा अवरोध पु¥याउन नहुने व्यवस्था गरिएको छ । यसैगरी कर्मचारीले नगर प्रहरीलाई महानगर प्रहरी ऐनको उपदफा ३ पनि सम्झाएका छन् । जसमा महानगर प्रहरीको आचरण, अनुशासनबारे उल्लेख छ ।
विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा सहज वातावरण बनाउन लागिपरेका सबैलाई धन्यवाद पनि दिइएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय पुगेर हाजिर गरेका छन् । बिहीबार तनावबिच गुरागाईंले महानगर पुगेर हाजिर गरेका हुन् । कार्यालय प्रवेशका क्रममा भने महानगर प्रहरीले अवरोध सिर्जना गरेको थियो ।