काठमाडौँ । राजावादीका कमान्डर बनेका दुर्गा प्रसाईँलाई कार्यक्रम स्थल बाटै पक्राउ गर्न सम्भव नभएको नेपाल प्रहरीले जनाएको छ । ठुलो भिड भएका कारण दुर्गा प्रसाईँलाई कार्यक्रम स्थलबाट पक्राउ गर्न सम्भव हुन नसकेको प्रहरीले जानकारी दिएको छ । निषेधित क्षेत्र तोड्ने भन्दै फिल्मी शैलीमा सुरक्षाकर्मी र आफ्नै समर्थकको समेत पर्वाह नगरी गाडी हुइँक्याएका दुर्गा प्रसाईंलाई प्रहरीले लगत्तै नियन्त्रणमा लिइसकेको थियो ।
तर केही बेरमै फुत्किएका उनी प्रदर्शनकारीले ढुंगा हानेको भवन पछाडि सटरमा लुकेर बसे, मौका हेरेर सुटुक्क भागेका थिए । चैत १५ गते प्रहरी माथि गाडी हुलेर अराजकता मच्चाएर यतिबेला फ्रहार रहेका उनै प्रसाईँ लाई प्रहरीले अहिले सम्म समात्न सकेको छैन । उनले सामाजिक सञ्जाल बाटै बेला बेला सरकार लाई नै चेतावनी दिने गरेका छन । यतिबेला प्रहरीले प्रसाईंको खोजी कार्य जारी रहेको र केही दिनमै सफलता पाउने विश्वासमा आफूहरू रहेको बताइरहेको छ । उनी भारत वा तराईँमा लुकेर बसेको हुनसक्ने प्रहरीको आशंका रहेको छ । अहिले उक्त हिंसामा सहभागीहरुलाई धमाधम पक्राउ गर्ने काम भैरहेको छ । यस्तै राजधानीको तीनकुनेमा शुक्रवार भएको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले ५८ राउन्ड गोली प्रहार गरेको छ । गोली चल्दा २० जनालाई लागेको प्रहरीले पुष्टि गरेको छ ।
प्रदर्शनकारी हिंसात्मक रूपमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको प्रहरीको दाबी छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले अराजक भिडलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताएका छन । प्रदर्शनकारीहरू विमानस्थलतर्फ अघि बढेपछि शुक्रवार दिउँसो २ बजेर ५४ मिनेटमा प्रहरीले पहिलो गोली प्रहार गरेको उनले बताए । तीनकुने घटनामा २ महिला र १८ पुरुष गरी २० जनालाई गोली लागेको उनले बताएका छन । आचार्यले आन्दोलनका क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भएको, ७४६ राउन्ड अश्रु ग्यास र र १९२ पटक ब्ल्यांक फायर भएको उल्लेख गरेका छन । प्रवक्ता आचार्यले तीनकुनेमा भेला भएका प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद् भवन तर्फ अघि बढ्न खोजेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले शुक्रवार १२ बजेर ५० मिनेटमा पहिलो अश्रुग्यास प्रहार गरेको बताएका छन ।
त्यसपछि दुर्गा प्रसाईँ नेतृत्वको भीड तीनकुनेबाट जबरजस्ती अघि बढेपछि प्रदर्शनकारी थप उत्तेजित भएको आचार्यले बताए । प्रहरीले निषेधित क्षेत्रबाट हटाएपछि तीनकुनेको मञ्चबाट दुर्गा प्रसाईँ र रवीन्द्र मिश्रले संसद् भवन, सिंहदरबार र विमानस्थल कब्जा गर्न माइकिङ गर्दै निर्देशन दिएको र प्रदर्शनकारी तोडफोडमा उत्रिएको प्रवक्ता आचार्यले बताए ।
तीनकुनेमा तोडफोड र आगलागी भएको घरमा जान नसकेपछि प्रहरीले पानीको फोहरा प्रहार गरेको र दमकल जान खोज्दा ढुङ्गामुढा समेत भएको प्रहरीले जनाएको छ ।