काठमाडौँ । काठमाडौँका मेयर बालेन शाहले रोक लगाएका प्रमुख प्रशासकिय अधिकृत सरोज गुरागाईँलाई स्वागत गर्न उपमेयर सुनिता डंगोल पुगेकी छिन । आज गुरागाईलाई कार्यालय प्रवेश गराइएको हो,उनलाई प्रवेश गर्नबाट रोक्न महानगरका प्रहरी तैनाथ गरिएको थियो । साढे तीन महिनापछि कार्यालय फर्किएका प्रशासकीय अधिकृत सरोज गुरागाई लाई काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका छन् ।
मेयर बालेन्द्र साहबाहेकका जनप्रतिनिधिहरु प्रशासकीय अधिकृतको स्वागतमा खडा भएका हुन् । स्वागत गर्नेमा महानगरकी उपप्रमुख सुनिता डंगोल पनि रहेकी छन् । उपमेयर डंगोलले पहिल्यैदेखि यो विषयमा मेयर साहप्रति असन्तुष्टि राख्दै आएकी थिइन् । प्रशासकीय अधिकृतलाई काम गर्न दिनुपर्ने उनको अडान थियो ।
कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईँलाई कार्यकक्षतिर लगेका थिए । तर, कार्यकक्षमा मेयर बालेन्द्र साहले ताला लगाइदिएका छन् ।
यस्तै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय भित्र्याउन सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारी कार्यपालिकामा जम्मा भएको बेला रास्वपाबाट निर्वाचित वडा नं १६ कि अध्यक्ष रोजिना श्रेष्ठ भने सहभागी नभएको बुझिएको छ । आफूलाई नबोलाइएको भन्दै उक्त कार्यक्रममा आफू सहभागी नभएको उनले जानकारी दिएकी छिन ।
मेयरले अवैधानिक रुपमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाइएको र यही कारणले कर्मचारीले ३ महिना र शिक्षकले ५ महिनासम्म तलब नपाएको कमैचारीहरुको भनाइ रहेको छ । यतिबेला काठमाडौँ महानगरपालिकामा अधिकृत नहुँदा कामहरु ठप्प रहेका छन । कर्मचारीहरुले ५ महिना देखि तलब पाउन सकेका छैनन । काठमाडौँ टावरको विवादमा मुछिएपछि सरोज गुराईलाई बालेन शाहले काम गर्न रोक लगाएका थिए जसले गर्दा गुरागाई ३ महिना देखि कार्यकक्षमा प्रवेश गर्न पाएका छैनन । काठमाडौँ टावरको नक्सा विवादलाई लिएर बालेन शाह र अधिकृत बिचमा टसल पर्दा कर्मचारीहरु भने मारमा परेका छन । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले अनियमित तवरबाट काठमाडौं टावरको नक्सापास गरिदिएको आरोप मेयर शाहले आरोप लगाएका छन ।