काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना वामपन्थी नेता, लेखक तथा पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन। उनले नेकपा एकीकृत समाजवादीको मुख्यालय, आलोकनगर पुगेर कोइरालाको पार्थिव शरीरमा माल्यार्पण गरेका हुन ।
पूर्व सांसद तथा पूर्व राजदूत समेत रहेका कोइरालाको हिजो राति सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री आज पहिलो पटक नेकपा एकीकृत समाजवादीको मुख्यालय प्रवेश गरेका हुन ।
शुक्रबार राजावादीहरुले तोडफोड र आगजनी गरेको भवनको अवलोकन गरेपछि उहाँले केहीबेर भलाकुसारी गरेका थिए। त्यस अवसरमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसँगै एमालेबाट निष्कासित नेता डा। भीम रावल सँगै देखिएका थिए ।
प्रधानमन्त्रीको दायाँतर्फ नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि थिए। उनीहरु सबै स्वर्गीय कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्न त्यहाँ पुगेका हुन ।