काठमाडौँ । गत शुक्रवार हजारौ प्रहरीको बिचबाटै भागेका राजावादीका कमान्डर तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भारत पुगेको प्रहरीले जनाएको छ । उनले हिज मात्रै आफु काठमाडौँ कै एक मन्दिरमा सुरक्षित बसेको बताए पनि उनी१५ गतेको राति नै भारत पुगेको प्रहरीले जनाएको हो । प्रसाई भारत पुगका केही प्रमाण फेला पारेको पनि अनुसन्धानमा सहभागी प्रहरीले जनाएका छन । फरार रहेका प्रसाईं भने सामाजिक सञ्जालमा सक्रिय छन् । शुक्रबार आन्दोलनबाट निस्किएर ललितपुरको इमाडोल पुगेका प्रसाईं त्यहाँबाट भूमिगत भएका थिए ।
शुक्रबार साँझदेखि प्रहरीका विशेष टोलीहरू परिचालित भए पनि उनलाई पक्राउ गर्न सकेको छैन । सामाजिक सञ्जालमा सो घटनाको दोष सरकारलाई नै दिइरहेका छन् । सामाजिक सञ्जालका आधारमा प्रहरीले उनलाई ‘ट्रयाक’ गर्न सकेको छैन । यही चैत १५ गते प्रसाईंले ‘कमान्ड’ गरेको प्रदर्शन अराजक बनेपछि उनले काठमाडौं छाडेको ती प्रहरी अधिकारीले जानकारी दिए । राजावादीको प्रदर्शनक्रममा दुईजनाको मृत्यु भएको थियो । पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनले ज्यान गुमाएका हुन् ।
प्रदर्शनक्रममा दर्जनौँ सवारीसाधन, सार्वजनिक सम्पत्ति, निजी घरमा तोडफोड, आगजनी र भाटभटेनी सुपरस्टोरमा लुटपाट समेत गरिएको थियो । प्रदर्शन उत्तेजित बनाएको र आन्दोलनका ‘कमान्डर’ समेत रहेकाले प्रसाईंलाई पक्राउ गर्ने सरकारी तयारीबीच उनी काठमाडौं छाडेर भारत हानिएका प्रहरीको भनाइ छ । शुक्रबार (चैत १५) राति नै उनी काठमाडौं छाडेर भारततर्फ लागेको प्रहरी जनाएको छ । प्रदर्शन हिंसात्मक बनेलगत्तै उनी ललितपुरको इमाडोलस्थित आफ्ना गुरु पुस्कर खतिवडाको घर पुगेका थिए । त्यहाँ फलफूल खाएर सोही राति उनी ललितपुरको फर्सीडोल हुँदै चितवनको ठोरी रुटबाट भारत गएको प्रहरी दाबी छ । प्रसाईं भारत पुगेको सूचनालगत्तै प्रहरीका केही अधिकारीले त्यहाँको सहयोगमा उनलाई पक्राउको आन्तरिक तयारी सुरु गरेका छन् । त्यस निम्ति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआर्ईबी)को टोलीले भारतीय प्रहरीसँग समन्वय थालेको छ । आइतबार प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रसाईंलाई कुनै पनि हालतमा पक्राउ गर्न मातहतका सुरक्षा अधिकारीलाई ‘कडा’ निर्देशन दिएका थिए ।
उनी भागे पनि प्रहरीले प्रदर्शनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र पार्टी महामन्त्री एवं सांसद धवलशमशेर जबरालाई सोही राति पक्राउ गरेको थियो ।
मिश्र र जबरासहित ११ जनाविरुद्ध राज्यविरुद्धको कसुर, संगठित र उपद्रव कसुरमा मुद्दा चलाइएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको छ ।