काठमाडौँ । राजावादीको कमान्डर बनेर यतिबेला फरार रहेका मेडिकल व्यावसायी दुर्गा प्रसाई बिरुद्ध मानिस मारेको अभियोगमा मुद्धा चलाईने भएको छ । शुक्रवार प्रसाईँले राजावादीको आन्दोलनलाई भड्काउन निकै महत्त्वपुर्ण भुमिका खेलेको र मानव हत्यका लागि प्रेरक बनेको प्रहरीको भनाई रहेको छ । प्रहरीले उनै प्रसाईलाई मानवहत्याको अभियोगमा मुद्दा चलाउने तयारी गरेको समेत जानकारी दिएको छ ।
शुक्रबार काठमाडौंको कोटेश्वर, तीनकुने क्षेत्रमा भएको हिंसात्मक गतिविधिलाई उक्साहट गर्ने राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलसमशेर राणाविरुद्ध मतियारका रुपमा मुद्दा चलाउने प्रहरीको तयारी रहेको छ । शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले आईजी दीपक थापासँग यसबारे परामर्श गरेका थिए । त्यसक्रममा आईजी थापाले मानवहत्याको अभियोग लगाउने कानुनी आधार रहेको जवाफ दिएका थिए । प्रसाइँले नै शुक्रबार सुरक्षाकर्मीलाई पेलेर गाडी हुइँक्याउँदै निषेधित क्षेत्र तोडेर उत्तेजित बनाएपछि राजावादी उग्र र हिंसात्मक बनेका थिए । चैत १५ मा निर्णायक आन्दोलन गर्ने घोषणा प्रसाईंले चैत २ मै गरेका थिए । अन्य राजावादीले भने उनीसँगै अघि बढ्न नसकिने बताउँदै आएका थिए । तर प्रसाईं र शाहबीच बिहीबारको भेटवार्तालगत्तै उक्त आन्दोलनलाई सघाउने भन्दै अन्य राजावादीले पनि साथ दिने घोषणा गरेका थिए । प्रसाईंविरुद्ध मानवहत्याको कसुरमा मुद्दा चलेर ठहर भएमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाईझैं सर्वश्वसहित जन्मकैद हुनसक्छ । यस्तै काठमाडौंको तीनकुनेमा शुक्रबार राजावादीहरुले हिंसात्मक प्रदर्शन गरेको घटनापछि राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा,स्वागत नेपाल सहितका केही व्यक्तिहरु पक्राउ परेका छन ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित टोलीले मिश्र, जबरा, स्वागत नेपालसहित पाँच जनालाई काठमाडौंबाटै पक्राउ गरेको थियो ।
उनीहरूलाई राति नै काठमाडौं प्रहरी परिसरको कार्यालयको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । उनीहरूलाईं अहिले भद्रकालीस्थित परिसरको कार्यालयमा राखिएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार मिश्र र जबरासहित पाँच जनालाई कुन–कुन मुद्दा चलाउने भन्ने विषयमा छलफल भइरहेको छ ।
प्रहरी उच्च स्रोतका अनुसार तीनकुनेमा शुक्रबार भएको घटना राजनीतिक प्रकृतिको हिंसा भएकाले पक्राउ परेकाहरूलाई के–के मा मुद्दा चलाउन मिल्छ भनेर सरकारी वकिल र महान्यायाधीवक्ताको कार्यालयसँग पनि प्रहरीले समन्वय गरेर निर्णय गर्नेछ । प्रहरीले थप अनुसन्धान गर्न म्याद थपका लागि अदालत उपस्थित गराउनुपर्नेछ । शनिबार अदालत बन्द हुने भएकाले पक्राउ परेकाहरुलाई आइतबार अदालत उपस्थित गराइ म्याद गरी प्रहरीले अनुसन्धान थाल्नेछ । प्रहरीले उनीहरूलाई २५ दिनमसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ ।